Aafno Khabar

अनिदो बसेर काम गर्नु दैनिक एक बट्टा चुरोट पिए सरह

  • आफ्नो खबर
  • २०७८ मंसिर १० गते २२:०२ प्रकाशित

एजेन्सी । रात्रिकालीन समयमा काम गर्दा मुटुमा असर गर्ने एक अध्ययनले देखाएको छ । केम्ब्रिजस्थित एमआरसी ल्याबोरेटरी अफ मलिकुलर बायोलोजिले गरेको अध्ययनले काम गर्ने समय परिवर्तन हुँदा शरीरको तालमेल बिग्रन सक्ने र त्यसले मुटुलाई जोखिममा पुर्‍याउँने देखाएको छ। हाम्रो शरीरले मुटु सक्रिय रहँदा कठिन काम गर्न खोज्ने त्यसैले कठिन काम गर्दा मुटु छिटो धड्किने पनि त्यो अध्ययनले निष्कर्ष निकालेको छ ।

मुटु कसरी धड्किन्छ भन्ने दुई वटा कुराले तय गर्छ – मस्तिष्कले दिने सङ्केत र मुटुको प्रत्येक कोषमा हुने सोडियम र पोटासियमको मात्रा । स्वस्थ्य व्यक्तिमा यी असङ्ख्य कोषको तालमेल एक अर्कासँग मिल्छ । तर अध्ययनले हामीले काम गर्ने समय परिवर्तन गरिरहँदा मस्तिष्कले त्यसलाई छिट्टै ग्रहण गर्ने तर मुटुका कोषहरूमा रहेको घडी भने पछाडि नै रहने देखाएको छ।

केही दिनका लागि मुटुको अपेक्षासँग मस्तिष्कका सङ्केतहरूको तालमेल नमिल्दा फरक–फरक समयमा काम गर्ने मानिसहरू मुटु सम्बन्धि समस्याको बढी जोखिममा रहने गर्छन् । खासगरी राति र दिउँसो काम गर्ने समय परिवर्तन गर्दा मुटुको खतरा बढाउँछ।

तर के कुरा ख्याल गर्नुपर्छ भने मुटुको समस्या देखिनुमा फरक समयमा काम गर्नु एउटा मात्रै कारण नभई परिवारको इतिहास, उमेर र खानपानले पनि फरक पार्छ। मुटुमा थुप्रै नराम्रा समस्या आउन सक्छन्, । सबैभन्दा डरलाग्दो भनेको सडेन डेथ सिन्ड्रोम हो जसमा मुटुले दुबिधामा परेर केही समयका लागि काम गर्न छोड्छ। तत्काल औषधोपचार भएन भने त्यसले मृत्यु नै पनि हुनसक्छ।

तर फरक–फरक सिफ्टमा काम गर्दा त्यसले मुटुलाई मात्रै नभई पाचन प्रणाली र मानसिक अवस्थामा असर गर्नुका साथै क्यान्सरको समेत खतरा बढाउँछ।

राति र दिनको सिफ्टमा परिवर्तन गर्दै गरेर काम गर्नु दैनिक एक बट्टा चुरोट पिए सरह हुन्छ । डेनमार्कजस्ता केही देशका सरकारले यस्तो खतराको पहिचान गरेको छ। उदाहरणका लागि त्यहाँ २० वर्षभन्दा बढी समय रात्रिकालीन काम गर्नेमा क्यान्सर देखिए क्षतिपूर्ति दिनुपर्छ। स्वस्थ र तन्दुरुस्त रहनका लागि हाम्रा सबै जैविक घडीहरूको एकअर्कासँग बलियो रूपमा तालमेल मिल्नुपर्छ।

तालमेल प्रभावकारी बनाउनका लागि दैनिक गरिने नित्यकर्ममा राति सुत्ने र दिउँसो खाने र काम गर्ने गर्नुपर्छ। तर लाखौँ कामदारका लागि यो विकल्प हुँदैन।

यद्यपि निद्रासम्बन्धी विज्ञहरू भने राति काम गर्दा हुने असर कम गर्न थुप्रै व्यवहारिक कदमहरू चाल्न सकिने बताउँछन्। एडिनबरा विश्वविद्यालयमा निद्रा र श्वासप्रश्वाससम्बन्धी परामर्शदाता डा। रेनाटा रिहा भन्छिन मानिसका रूपमा शरीर र मस्तिष्कमा रहेको मूल घडीलाई विलम्ब गर्न सजिलो हुन्छ।

उनले कामको पालो दिनबाट अनि अबेरसम्मको काम र त्यसपछि रात्रिकालीनमा परिवर्तन हुने बताइन्। रात्रिकालीन काम कम्तीमा दुई साताका लागि गर्दा त्यसले शरीरलाई घडी मिलाउन समय दिन्छ।

शरीरका सबै घडीलाई परिवर्तन हुन करिब एक साता लाग्छ। निद्रासम्बन्धी हार्मोन उत्पादन गर्ने मेलाटोनिनका लागि मूल घडी जिम्मेवार हुन्छ जसले शरीरका अरू सबै घडीहरूलाई निर्देशित गर्छ, डा. रिहाले भनिन्। उनले रात्रिकालीन कामका बेला २० देखि ३० मिनेटका लागि निदाउन पनि सुझाव दिइन्।

औसतमा एकजना मानिसलाई सातदेखि आठ घण्टाको निद्रा आवश्यक पर्छ तर सबै निद्रा समान हुँदैन। दिउँसोको निद्राको गुणस्तर कम हुन्छ र त्यसले शरीरलाई आवश्यक आराम दिँदैन। राति काम गर्ने मानिसहरूले घर पुग्ने बित्तिकै सुत्नुपर्ने डा. रिहा बताउँछिन्।

शान्त, चिसो र अँध्यारो कोठामा निदाउने प्रयास गर्नुपर्छ। घामको उज्यालो आउन नदिनका लागि पर्दा छैन भने आँखा ढाक्न सकिन्छ। कान पनि ढाक्न सकिन्छ, उनले भनिन्। व्यायाम र सन्तुलित भोजनले पनि मद्दत पुर्‍याउँछ तर कतिबेला भन्ने समयको कुरा चाहिँ महत्त्वपूर्ण हुन्छ।

खाना र व्यायामको असर शरीरमा प्रत्यक्ष हुन्छ र यसले क्रमशः इन्सुलिन र शरीरको तापक्रम परिवर्तन गराउँछ। हामीले हाम्रो शरीरलाई नयाँ समय स्वीकार्न चलाखी गर्न सक्छौँ।

त्यसका लागि रातिको काम सुरु गर्नुअघि सन्तोषजनक मात्रामा खानेकुरा खाने र उज्यालोमा बस्ने अनि दिउँसोको समयमा खाना र उज्यालोबाट टाढा रहने गर्न सकिन्छ।