Aafno Khabar

आज विजयादशमी, टीकाको उत्तम साइत १० बजेर २ मिनेटमा

  • आफ्नो खबर
  • २०७८ आश्विन २९ गते ०७:५३ प्रकाशित

काठमाडौं । आज विजया दशमी मान्यजनको हातबाट टीका, जमरा लगाएर र आर्शीवाद लिएर मनाइँदैछ । आज टीकाको उत्तम साइत १० बजेर दुई मिनेटमा रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले विजया दशमीमा साइत खोजेर टीका लगाउनेका लागि बिहान १० बजेर २ मिनेटको साइत शुभ रहेको जनाएको छ ।

यद्यपि आज दिनभर नै टीका ग्रहण गर्न मिल्ने समितिले जनाएको छ । टीका लगाउने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । आज मान्यजन, अग्रज र आफूभन्दा ठूला व्यक्तिबाट दुर्गा भवानीको प्रसादको रुपमा टीका र जमरा लगाउने र आशीर्वाद लिने चलन छ ।

घटस्थापना गरिएको पूर्ण कलशबाट अभिषेक गरी नवदुर्गाको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने वैदिक सनातनी परम्परा छ । केही जाति र सम्प्रदाय विशेषले भने आज सेतो अक्षताको टीका लगाएर पनि विजयादशमी पर्व मनाउँछन् ।

असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा बडादशैं पर्व मनाउने परम्परा छ । यस पर्वअन्तर्गत नवरात्रिका उपलक्ष्यमा घटस्थापनादेखि नौदिनसम्म विभिन्न शक्तिपीठ तथा दशैंघरमा प्रत्येक दिन पूजाअर्चनासहित दुर्गा सप्तशती चण्डी र भगवतीको स्तोत्र पाठ गरेपछि त्यसको प्रसाद आजदेखि कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म लगाइन्छ ।

नौदिनसम्म दशैंघरमा दुर्गा भवानीको पूजाआराधना गरी राखिएको जमरासहितको टीका आजदेखि पाँच दिनसम्म लगाउने प्रचलन छ । पूजाकोठा तथा दशैंघरमा विधिपूर्वक राखिएको जमरा आजैका दिन देवीपूजा विसर्जन गरी निकालिएपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनबाट श्री नवदुर्गा भवानीको प्रसाद, टीका र जमरा लगाई आशीर्वाद थापिन्छ ।

आजका दिन परिवारमा आफूभन्दा ठूलाबडा, बाजेबज्यै, बाबुआमा, गुरूपुरोहित तथा मान्यजनको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरूबाट यश, ऐश्वर्य वृद्धि तथ दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिने गरिन्छ ।