Aafno Khabar
sanima bank

आमाले गरिन दुई छोराको हत्या, आफूले पनि गरिन आत्महत्या

  • आफ्नो खबर
  • २०७८ आश्विन २३ गते १९:५१ प्रकाशित

धनुषा । धनुषाको नगराइन नगरपालिकामा एकै परिवारका तीन जनाको शव फेला परेको छ । नगरपालिकाको वडा नम्बर ७ फुलगामा टोलकी २४ वर्षीया गुडिया साह, उनका ५ बर्षीय छोरा अभिषेक र ३ बर्षीय आदित्य साहको शव घरभित्रै फेला परेको धनुषा प्रहरीले जनाएको छ ।

घटनाको प्रकति हेर्दा घटनामा आमा गुडिया साहको हात रहेको प्रहरीले आशंका गरेको छ । प्रहरीका अनुसार साहले शुक्रबार साँझ ५ वर्षीय छोरा अभिषेक र ३ वर्षीय आदित्य साहलाई डोरीले घाँटी कसेर हत्या गरेको र दुबै छोराको हत्यापछि आफूले पनि आत्महत्या गरेको जनाएको छ ।

गुडियाले सिलिङ फ्यानमा पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीका अनुसार घटनाका बेला गुडियाका श्रीमान गुरुदेव साह कामको सिलसिलामा जनकपुर गएका थिए ।

घरमा कोही नभएको बेला चर्को स्वरमा गीत बजाएर गुडियाले छोराको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान छ । घटनास्थलबाट गुडियाले प्रयोग गर्ने मोबाइल फुटेको अवस्थामा बरामद भएको छ ।

प्रहरीका अनुसार १० वर्षअघि गुडिया र गुरुदेव साहले प्रेम विवाह गरेका थिए । घटनाको कारण खुल्न अझै बाँकी छ । मृतक तीनै जनाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।