Aafno Khabar
sanima bank

राजा हुने मन भएपछि श्रीपेच चोर्ने प्रयास…

  • आफ्नो खबर
  • २०७८ आश्विन ८ गते १५:३४ प्रकाशित

काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्ने प्रयास भएको छ । अवलकोनका लागि संग्रहालय पुगेका रुकुम पश्चिम मुसिकोट नगरपालिका–११ का २५ वर्षीय खेमबहादुर घर्तीले प्रदर्शनमा राखिएको श्रीपेच चोर्ने प्रयास गरेका छन् ।

श्रीपेच रहेको सिसा फुटाउनका लागि घर्तीले उक्त कोठामा रहेको अर्को सिसाको सोकेस फुटाएर खुकुरी निकाल्ने प्रयास गरेका थिए । सोही क्रममा सुरक्षामा खटिएका सेनाले उनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको जनाइएको छ ।

‘श्रीपेच बुलेट प्रुफ सिसाभित्र छ । श्रीपेच रहेकै एकातर्फको भित्तामा सिसाको सोकेस छ । त्यो सिसाको सोकेस फुटाएर उनले खुकुरी झिकी श्रीपेच निकाल्ने प्रयास गरेका थिए ।

उनलाई श्रीपेच देखेपछि त्यो लगाएर राजा हुन मन लागेपछि श्रीपेच चोर्ने प्रयास गरेको हुनसक्ने प्रहरीले आँकलन गरेको छ । घर्तीलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गमा राखी आवश्यक अनुसन्धान भइरहेको छ ।