Aafno Khabar

ससंदमा एमालेको हंगमा, संसदमै घन्कियो सभामुख मुर्दावादको नारा

  • आफ्नो खबर
  • २०७८ भाद्र २३ गते १९:५६ प्रकाशित

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको भूमिका निष्पक्ष नभएको र दल विभाजनमा भूमिका खेलेको आरोप लगाउँदै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संघीय संसदका दुवै सदन अवरोध गरेको छ ।

आफ्नो पार्टीले कारवाहीका लागि सिफारिस गरेका १४ जना सांसदलाई कारबाही नगरेर सभामुखले निष्पक्ष भूमिका निर्वाह नगरेको र दल विभाजनमा भूमिका खेलेको भन्दै एमालेका सांसदहरुले सभामुखबिरुद्ध सदनमै नारावाजी गरेका छन् ।

प्रतिनिधिसभाको आज बसेको पहिलो बैठकको सुरुमै एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख सापकोटाको भूमिका निष्पक्ष नभएको भन्दै सदनका कामकारवाही चल्न नदिएको हो । एमाले सांसदहरुले सभामुखबिरुद्ध मुर्दावादको नाराबाजीसहित रोष्टम घेराउ गरेका थिए ।

बैठक सञ्चालनको लागि सभामुखले पटक–पटक आग्रह गरे पनि विपक्षी दलका सांसदहरुले नमानेपछि १५ मिनेटको लागि बैठक स्थगित भयो । बैठक रोकेर सभामुखले प्रमुख प्रतिपक्ष दल एमाले र सत्तारुढ दलका प्रमुख सचेतक, सचेतकसंग समस्या समाधानका लागि छलफल गरेर दोस्रो बैठक सुरु गर्नुभएको थियो ।

तर, दोस्रो बैठकमा पनि विपक्षी दलका सांसदहरुको नारावाजीसहितको अवरोध जारी रहेपछि सभामुख सापकोटाले पुनः १५ मिनेटका लागि बैठक स्थगित गर्नुभयो ।

तेस्रो बैठकमा सभामुख सापकोटाले सदनका कामकारवाही अगाडी बढाए प्रतिपक्ष सांसदहरुले नाराबाजी जारी राखेपछि बैठक २५ गतेसम्मको लागि स्थगित गर्नुभयो । यस्तै, प्रतिपक्ष दल एमालेका सांसदहरुले राष्ट्रियसभा बैठक पनि अवरोध गरेका छन् ।