Aafno Khabar

अफगानिस्तानमा फेरि चर्कियो द्धन्द्ध-तालिबानविरुद्ध महिलाको विरोध

  • आफ्नो खबर
  • २०७८ भाद्र २२ गते १९:५१ प्रकाशित

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा तालिवानविरुद्ध विशाल विरोध प्रदर्शन भएको छ । विरोधप्रदर्शनमा सहभागीहरूलाई तितरबितर पार्न तालिबानले हावामा गोली चलाएको छ ।

घटनास्थलमा खिचिएको भिडिओमा गोली चलेको आवाज सुनिन्छ तथा मानिसहरू भाग्दै सुरक्षित ठाउँतिर गएको देखिन्छ । काबुलका सडकमा आज हजारौँ प्रदर्शनकारीहरूले महिला अधिकार सुरक्षित हुनुपर्ने माग राख्दै तालिबान शासनको निन्दा गरेका थिए ।

उनीहरूले पाकिस्तानविरुद्ध पनि नारा लगाएका थिए । धेरै मानिसहरू छिमेकी देश पाकिस्तानले तालिबानको पृष्ठपोषण गरेको ठान्ने गरेका छन् । तर पाकिस्तानले त्यस्तो आरोपको खण्डन गर्ने गरेको छ । बीबीसीलाई पठाइएको एउटा भिडिओमा तालिबान लडाकुहरूले हावामा गोली चलाएको देखिन्छ ।

तालिबान शासनमा फर्किएको हर्षोल्लासमा बढाइँ गर्दा केही मानिसको मृत्यु भएपछि गत साता तालिबानले हावामा गोली चलाउन प्रतिबन्ध लगाएको थियो । बीबीसीको टोली र केही पत्रकारहरूलाई काबुलको ¥यालीको तस्बिर तथा भिडिओ खिच्न रोक लगाइएको थियो ।

अफगान सामाचारसंस्था तोलोका अनुसार उसका एक क्यामराम्यान तथा अन्य स्थानीय र विदेशी सञ्चारकर्मीहरू पक्राउ परेका छन् ।

गत साता अफगानिस्तानमा महिलाहरू तालिबानको विरोधमा सडकमा ओर्लिएका थिए । आज पुरुषहरूले पनि महिलाका लागि समानता र सुरक्षाको माग राख्दै एकबद्धता व्यक्त गरेका थिए ।