Aafno Khabar

‘लाइसेन्स’ परीक्षा पुन : सञ्चालन, रि-ट्रायल भदौ २७ देखि

  • आफ्नो खबर
  • September 5, 2021 प्रकाशित

काठमाडौं । बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा आयतबारदेखि पुन : सञ्चालन गरेकाे छ । गत वैशाख १५ गतेदेखि कोरोना जोखिमका कारण लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा स्थगित गरिएका थिए । मन्त्रालयद्वारा यही भदौ १३ मा जारी सूचनामा प्रयोगात्मक परीक्षाका लागि आवेदन दिइ बायोमेट्रिक गरेका लिखित परीक्षा र लिखित परीक्षा दिइ प्रयोगात्मक परीक्षामा (ट्रायल) संलग्न हुने, एकपटक प्रयोगात्मक परीक्षा अनुत्तीर्ण हुने तथा कार्यालयमा उपस्थित भई वर्ग थपका लागि राजश्व बुझाइसकेका सेवाग्राहीका लागि परीक्षा सञ्चालन हुने जनाएको छ ।

यातायात व्यवस्था विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड–२०७८’ स्वीकृत गरेसँगै रोकिएका परीक्षा सञ्चालन गर्न मन्त्रालय मातहतका निकायलाई बाटो खुला भएको हो । कोरोनाका कारण देशभर परीक्षा रोकिँदा करिब आठ लाख सेवाग्राही समस्यामा परेका जनाइएको छ । विभागका महानिर्देशक नमराज घिमिरेले अब सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड–२०७८ का अनुसार परीक्षा हुने जानकारी दिए ।

केही समय अघिमात्र जारी सो नयाँ मापदण्डमा परीक्षार्थीले जनस्वास्थ्यका मापदण्डलाई अनिवार्य पालना गर्दै मास्क र स्यानिटाइजर प्रयोग गर्नुपर्ने छ । यसैगरी परीक्षाका क्रममा भीडभाड नगरी भौतिक दूरी कायम गर्नुपर्ने, परीक्षा केन्द्रमा प्रवेश गर्नु अगाडि परीक्षार्थीको शारीरिक तापक्रम मापन गर्नुपर्ने, प्रश्नपत्र वितरण तथा हाजिरी गराउँदा उच्च सतर्कता अपनाउनुुपर्ने र मापदण्डअनुसार परीक्षा सुरु हुनुअगावै परीक्षार्थीलाई ट्रायल हुने समय तोकी तोकिएको समयमा परीक्षा सञ्चालन गरिने उल्लेख छ ।

तोकिएको समयमा उपस्थित हुन नसक्ने परीक्षार्थीलाई अनुपस्थित भएको मानिने र सोही दिनको अन्य सिफ्टमा सञ्चालन हुने परीक्षामा समेत सहभागी नगराउने मापदण्डमा प्रावधान छ ।

परीक्षार्थीलाई प्रयोगात्मक परीक्षाको दिन, सिफ्ट र समयको जानकारी परीक्षा सञ्चालन हुनुभन्दा कम्तीमा २४ घण्टा अगाडि उपलब्ध गराइने व्यवस्था मापदण्डमा गरिएको छ । परीक्षा सञ्चालन गर्दा एक सिफ्टमा बढीमा ५० परीक्षार्थीलाई मात्र सहभागी गराइने भनिएको छ।

कार्यालयले खुला ठाँउ भएको विद्यालय वा अन्य भवनलाई लिखित परीक्षाको लागि खोजी गरी प्रयोग गर्नुपर्ने मापदण्डमा व्यवस्था छ। अब ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन निर्देशिका, २०७७’ अनुसार परीक्षा हुने बताइएको छ । यसैबीच नयाँ निर्देशिकाअनुसार विभागले परीक्षाका लागि वस्तुगत नमूना प्रश्न सार्वजनिक गरेको छ । विभागले ‘क’ ‘ख’ र ‘ट’ वर्गको मोटरसाइकल, स्कुटर सहित ‘ख’ वर्गको कार, जिप र डेलिभरी भ्यानको अनुमतिपत्रको लिखित परीक्षामा सोधिने प्रश्नपत्र सार्वजनिक गरिएको हो। लिखित परीक्षामा सवारी तथा यातायात व्यवस्थासम्बन्धी कानुनी प्रावधान, ट्राफिक नियमको पालना तथा सवारी साधनको प्राविधिक पक्षसम्बन्धी सामान्य व्यवहारिक ज्ञानका विषय समेटी पूर्णाङ्क १०० रहने गरी चार÷चार अङ्कका जम्मा २५ वस्तुगत बहुउत्तर प्रश्न सोधिने जनाएको छ । त्यही सङ्ग्रहभित्रबाट २५ वस्तुगत बहुउत्तर प्रश्न सोधिने र ३० मिनेटका परीक्षामा उत्तीर्ण हुन न्यूनतम ६० अङ्क ल्याउनुपर्ने छ । निर्देशिकामा प्रयोगात्मक परीक्षाका प्रावधानमा समेत परिमार्जन गरिएको बताइएको छ ।

भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा प्रयोगात्मक परीक्षा

यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङले प्रयोगात्मक परीक्षाका लागि ‘ट्रायल सेन्टर’का रूपमा भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरलाई स्वीकृति दिएको छ । चन्द्रागिरि नगरपालिका–१२ बलम्बूस्थित गुर्जुधारामा रहेको सो एकेडेमीले सरकारको मापदण्डअनुसार प्रयोगात्मक परीक्षा सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि गर्दै जाने बताएको छ । नेपालको सबैभन्दा ठूलो र सुविधासम्पन्न सो एकेडेमी ३२ रोपनी क्षेत्रफलमा फैलिएको छ । सो एकेडेमीमा सबै प्रकारका यातायातका साधनका लाइसेन्सको प्रयोगात्मक परीक्षाका लागि पूर्वाधार तथा प्रशिक्षणका लागि सुविधा छ । कोभिड–१९ का लागि निर्धारण गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्दै एकेडेमीमा प्रयोगात्मक परीक्षा सुरु हुने एकेडेमीका अध्यक्ष राजेश घिमिरेले जानकारी दिए ।

उनले भने, ‘प्रयोगात्मक परीक्षार्थीका लागि सामाजिक दूरी अनिवार्य कायम गरिएको छ । ज्वरो मापन, स्यानिटाइजर तथा मास्क अनिवार्य गरिएको छ ।’ सरकारले अवलम्बन गरेको सहकारी, सार्वजनिक र निजी क्षेत्र सहभागी तीनखम्बे अर्थनीतिअनुसार विसं २०७३ मा एकेडेमी स्थापना भएको थियो । ऐकेडेमीमा दुई पाङ्ग्रे, चारपाङ्ग्रे तथा ठूला सबै प्रकारका सवारीको प्रयोगात्मक परीक्षा दिन तथा प्रशिक्षण व्यवस्था रहेको एकेडेमीका प्रबन्ध निर्देशक माधव अधिकारीले बताए । उनले भने, ‘न्यूनतम शुल्कमा गुणस्तरीय सेवा दिइरहेका छौँ । निर्धारित स्वास्थ्य मापदण्ड पूरा गरी सबै प्रकारका यातायातका साधनको लाइसेन्सका लागि प्रयोगात्मक परीक्षा आजदेखि सञ्चालनमा ल्याएका छौँ । गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता हो।’

कोरोना भाइरसका जोखिमका कारण लामो समयसम्म बन्दाबन्दी हुँदा एकेडेमी सञ्चालनमा समेत आर्थिक सङ्कट परेको जनाइएको छ । सरकारले जग्गा भाडा छुट तथा अन्य सुविधा नदिँदा एकेडेमी चरम आर्थिक समस्यामा परेको हो । ‘सरकारको आग्रह, सेवाग्राही माग र चाहनालाई ध्यान दिएर मात्र एकेडेमी सञ्चालन गरेका हौँ । हामी चरम आर्थिक सङ्कट छौँ, सरकार तथा स्थानीय निकायबाट समेत कुनै सुविधा पाएका छैनौँ’, एकेडेमीका सञ्चालक रामनारायण घिमिरेले भने ।

एकेडेमीले सामाजिक दायित्वअन्तर्गत बन्दाबन्दीका समयमा गर्भवती, मिर्गौला, मुटु, क्यान्सर, फोक्साका बिरामीलाई आफ्ना सवारी साधनमार्फत अस्पताल जान र आउन निःशुल्क यातायातको व्यवस्था गरेको थियो । यसैगरी नगरपालिकाद्वारा स्थापित कोरोना कोषमा रु एक लाख आर्थिक सहयोगसमेत गरेको थियो । एकेडेमीले दक्ष चालकद्वारा सवारी सिक्न चाहनेका लागि विशेष सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण सञ्चालन गर्दै आएको छ । स्वास्थ्य मापदण्ड पालन गर्दै प्रशिक्षण सञ्चालनमा ल्याइएको स्थानीय समाजसेवीसमेत रहनुभएका उनले जानकारी दिए ।

लाइसेन्सको रि-ट्रायल भदौ २७ देखि खुल्ने

बागमती प्रदेश अन्तर्गत यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमति पत्रको रि-ट्रायल परीक्षा यही भदौ २७ गतेदेखि खुलाउने भएको छ । ललितपुरस्थित एकान्तकुनामा भदौ २७ देखि बिहान १०:३० बजेदेखि सुजुकी ड्राइभिङ स्कुल प्रालि एकान्तकुनामा रि-ट्रायल परीक्षा हुनेछ ।

आइतबारदेखि बुधबारसम्म वर्ग (ए) र (के) दैनिक दुई सय जनाको रि-ट्रायल हुनेछ भने वर्ग (बी) को दैनिक एक सय जनाको रि-ट्रायल हुने कार्यालयले जनाएको छ । बिहीबार भने वर्ग (एफ) को एक सय ५० जना र वर्ग (जी) को एक सय जनाको रि-टायल हुनेछ । कोरोनाका कारण संख्या निर्धारण गरेर रि-ट्रायल गर्न लागिएको हो ।

एक वा दुईपटक ट्रायल असफल भएका तर १८ महिना नकटेका सेवाग्राहीले फारम भरेर शुल्क बुझाएपछि ट्रायल दिन पाउँछन् । शुल्क बुझाएको दिन ट्रायल हुने दिनबारे कार्यालयले जानकारी दिनेछ । प्राय: २४ घन्टापछि ट्रायल दिन पाइनेछ ।

कार्यालयले २०७८ वैशाख १४ मा खित परीक्षा पास तथा वर्थ थपसमेतको ट्रायल परीक्षाका लागि भदौ २० देखि २२ सम्म सम्पर्क कार्यालयमा गर्न भनेको छ भने ट्रायल भने भदौ २३ गतेदेखि हुनेछ । २०७८ वैशाख १४ गतेभित्र राजश्व तिरेर लिखित बाँकी रहेका नयाँ तथा वर्ग थपका सन्दर्भमा भदौ २० मा सम्पर्क गर्न र लिखलित भदौ २१ र पास भएमा ट्रायल भदौ २५ गते हुनेछ ।

भदौ १५ मा बायोमेट्रिक भई राजश्व तिर्न बाँकी रहेकाहरूले भदौ २० मा सम्पर्क गर्न र भदौ २५ मा राजश्व तिर्न पाउँछन् भने भदौ २८ मा लिखित र लिखित पास भए असोज १ गते ट्रायल दिन पाउँछन् ।