Aafno Khabar

अमेरिकी सेनाको जहाजबाट खस्ने एक अफगानी फुटबलर, अर्को डाक्टर !

  • आफ्नो खबर
  • २०७८ भाद्र ४ गते ०८:५० प्रकाशित

काठमाडाैं । अमेरिकी सेनाको जहाजबाट खसेर ज्यान गुमाउने २ जनाकाे परिचय खुलेकाे छ । ज्यान गुमाउनेमा एक जना अफगानी फुटबलर भएको र अर्का एकजना डाक्टर भएकाे खुलेकाे हाे । काबुलबाट अफगानी नागरिक उद्धार गर्ने क्रममा दुई जना हामिद् कर्जाइ अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजबाट खसेका थिए ।

ती मध्ये एक जना फुटबल खेलाडी १९ वर्षीय जकी अनवरी रहेको खुलेको छ। उनले अफगानिस्तानको नेसनल युथ टिममा फुटबल खेलेको बीबीसीमा उल्लेख छ । उनको बारेमा थप विवरण भने खुलाइएको छैन ।

द अफगान स्पोर्ट सोसाइटीले उनको मृत्यु पुष्टि गरी समाचार प्रकाशित गरेकाे छ ।

सोही जहाजबाट खसेर ज्यान गुमाउने अर्का एकजना डाक्टर भएको बताइएको छ । भारतीय समाचार पोर्टल भास्करका अनुसार सैफुल्ला होतक नामक डाक्टरको सोही विमानबाट खसेर ज्यान गएकाे हाे । उनको साथमा जन्मदर्ताको प्रमाणपत्रसमेत भेटिएको भास्करले दाबी गरेको छ। यद्यपि यसबारे विस्तृत विवरण भने उल्लेख गरिएको छैन ।