Aafno Khabar

तालिबानले पुनः कब्जा गरेको अफगानिस्तानको कथा

  • आफ्नो खबर
  • २०७८ साउन ३२ गते १३:४९ प्रकाशित

काठमाडौं । अफगानिस्तानबाट अमेरिकी सैनिक बाहिरिने फैसलापछि तालिबानले एक सातामा आफ्नो कब्जा जमाइसकेको छ । आइतबार साँझ अफगानिस्तानका राष्ट्रपति अशरफ गनी देश छोडर भागिसकेका छन् ।

तालिबान नेताहरुले २० वर्षको प्रतीक्षा पछि आफूहरु सत्तामा पुगेको भनी खुशीयाली मनाइरहेका छन् । तालिबानी लडाकुहरुले एक पछि अर्को गरी अफगानिस्तान कब्जा गरेका हुन् । कयौँ राज्यका गभर्नरले आत्मसमर्पण गरेका कारण बिना संघर्ष सजिलोसँग तालिबानी लडाकु कब्जा गर्न सफल बने ।

यही बीचमा कयौँ देशहरु अफगानिस्तानमा रहेका आफ्ना नागरिकहरु फिर्ता गराइरहेका छन् । आइतबार राजधानी काबुलमा कयौँ मानिसहरु हतास देखिन्थे । कयौँ मानिसहरु अफगानिस्तान छोडेर आफ्नो देश फर्कन कोसिस गरिरहेका छन् । यद्यपी तालिबानले स्वदेश फर्कन चाहने विदेशीहरु फर्कन सक्ने बताइसकेको छ ।

यसअघि अफगानिस्तानमा अमेरिकी नेतृत्वको फौजको कारबाहीले सन् २००१ मा तालिबानलाई सत्ताच्युत गरेको थियो । त्यसयता तालिबानी समूहले शक्ति सञ्चयमा लागेको थियो । हालका दिनहरुमा उसले आफ्नो अफगान भूभागमा आफ्नो नियन्त्रण कायम राख्न सफल भएको छ ।

सन् २०१८ मा तालिबानी समूह अमेरिकासमर्थित शान्तिवार्तामा प्रवेश गरेका थिए । सन् २०२० को फेब्रुअरीमा तालिबानी समूह र अमेरिका पक्षबीच कतारको दोहामा एउटा शान्ति सम्झौता भएको थियो । जसमा अफगानिस्तानबाट अमेरिकी फौजको फिर्ता हुने र तालिबानले उनीहरूमाथि आक्रमण नगर्ने प्रतिबद्धता जनाएको थियो ।

कहाँ गए राष्ट्रपति गनी ?

तालिबान राजधानी काबुल प्रवेश गरेपछि काबुल छाडेर भागेका गनी सुरुवातमा ताजकिस्तान गएको दाबी गरिएको थियो ।

तालिबान काबुलमा छिरेपछि अफगान अधिकारीले पत्रकारसँग राष्ट्रपति भागेको जानकारी गराएका थिए । सुरुवाती रिपोर्ट अनुसार राष्ट्रपति गानी ताजकिस्तानतर्फ भागेको जानकारी प्राप्त भएको थियो ।

तर अलजजिराले एक रिपोर्ट सार्वजनिक गरेको छ जसमा राष्ट्रपति गनी, उनकी पत्नी, सेना प्रमुख र राष्ट्रिय सुरक्षा सल्लाहकार उज्वेकिस्तानको राजधानी तासकन्द गएका छन् । तर अफगान सरकारले यसको पुष्टि गरेको छैन । आइतबार अबेर तालिबानहरू राष्ट्रपति भवनभित्र रहेका तस्बिर सार्वजनिक भएका थिए ।

अफगानिस्तानमा नजर लगाउँदा

– अफगानिस्तानको विषयमा चौतर्फी आलोचना खेपिरहेका अमेरिकाका राष्ट्रपति जो बाइडेनसँग पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले राजीनामाको माग गरेका छन् । उनले यदि उनी राष्ट्रपति भएको भए अमेरिकाको निष्काशन ‘फरक र सफल’ हुने दाबी गरेका छन् । त्यसको जवाफमा राष्ट्रपति बाइडेनले अमेरिका र तालिबान बीचको सम्झौता राष्ट्रपति डोनाल्ड ट्रम्पको पालामा भएको बताएका छन् ।

– अफगानिस्तानबाट भागेपछि राष्ट्रपति अशरफ गनीले सोसल मिडियामा एक बयान जारी गरेका छन् जसमा उनले देशमा रक्तपात रोक्नका लागि आफूले उक्त कदम चालेको बताएका छन् ।

–अफगानिस्तानका पूर्व राष्ट्रपति हामिद करजइले एक भिडियो सन्देशमार्फत आफू काबुलमा नै रहने बताएका छन् । अमेरिकी शैन्य अपरेशन पछि करजई सन् २००१ मा देशका नेता बनेका थिए ।
– काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा सबै कमर्सियल उडान बन्द गरिएको छ । जसमा केबल सैन्य विमान सञ्चालनको अनुमति मात्र दिइएको छ ।

– अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनका अनुसार अमेरिकाले अफगानिस्तानमा रहेको आफ्नो दूतावास काबुल विमानस्थलमा सारेको छ । दूतावासको भवनमा रहेको झण्डा पनि झारेर विमानस्थलमा लगिएको छ ।

– अफगानिस्तानका राष्ट्रपति अशरफ घनी र उपराष्ट्रपति अमिरुल्लाह सालेहले भारतीय समय अनुसार आइतबार राती देश छाडेका थिए । उनीहरुले देश छाडेर भागेपछि तालिबानले एक बयान जारी गरेको थियो जसमा भनिएको थियो, उसका लडाकुहरु आधिकारिक रुपमा काबुलको क्षेत्रहरुमा प्रवेश गरी रहेका छन् र कार्यालयहरु कब्जा गरीरहेका छन् । राष्ट्रपतिले देश छाडेपछि धेरै ठाउँमा गोली चलेको आवाज सुनिएको छ ।

– अफगानिस्तानका कार्यवाहक गृहमन्त्री अब्दुल सत्तार मिर्जाकवालले टोलो न्यूजलाई दिएको बयानमा भनिएको छ– सत्ता हस्तान्तरण शान्तिपूर्ण रुपमा गरिनेछ र एक अन्तरिम सरकार गठन हुनेछ । उनले भनेका छन्– काबुलमा हमला हुने छैन ।

– अफगानिस्तानकी महिला सांसद फरजाना कोचाइले बीबीसीमा दिएको जानकारीमा मानिसहरु राजधानी काबुल छोड्न खोजिरहेको तर भाग्ने ठाउँ नभएको बताएकी छन् । उनका अनुसार ‘तालिबानको नियन्त्रणमा रहेका क्षेत्रहरुमा महिलाहरु काम गर्न छोडेका छन् । महिलाहरु विद्यालय तथा कार्यालयमा जान छोडेका छन् ।

– तालिबानी समूह काबुल पसेको केहीबेरमा आइतबार नै कयौँ महिलाहरुको पोस्टरमाथि रंग पोतिएको तस्बिर सञ्चारमाध्यममा आएको थियो ।

पुरानो सत्ता ढलेपछि अब अफगानिस्तानको सत्ता कुन तालिवानी नेताले सम्हाल्लान् त ? भन्ने चर्चा चल्न थालेको छ । यतिबेला तालिबानको २ नेताको चर्चा भइरहेको बीबीसीले जनाएको छ । त्यसमा तालिवानको नेतृत्व सम्हालिरहेका मुल्ला अब्दुल घानी बरादर र हिब्तुल्लाह अखुदजादा रहेका छन् ।

को हुन् मुल्ला अब्दुल घानी बरादर ?

मुल्ला सन् १९९४ मा तालिवान समूहको गठन गर्ने चार जनामध्ये एक नेता हुन् । उनीसहित अन्य तीन जना मिलेर तालिवान समूहको गठन गरेका थिए । सन् २००१ मा अमेरिकाको नेतृत्वमा अफगानिस्तानमाथि भएको हमलापछि तालिवानलाई सत्ताबाट हराएपछि उनी नेटो सैन्य बलको विरुद्ध विद्रोहको प्रमुख बनेका थिए ।

पछि सन् २०१० को फेब्रअरीमा अमेरिका र पाकिस्तानले गरेको संयुक्त अभियानमा उनी पाकिस्तानको कराँची शहरबाट पक्राउ परेका थिए ।

सन् २०१२ सम्म मुल्लाका बारेका खासै चर्चा थिएन । अफगानिस्तानी सरकारलाई शान्ति वार्ताका लागि बन्दीहरुको रिहाइको माग गरिएको समयमा मुल्लाको नाम सबैभन्दा अगाडि आउने गरेको थियो ।

सन् २०१३ को सेप्टेम्बरमा पाकिस्तानी सरकारले उनलाई रिहा गरिदिएको थियो । तर, त्यसपछि उनी पाकिस्तानमै रहे वा अन्यत्र गए भन्ने विषय भने अस्पष्ट थियो ।

मुल्ला बरादर तालिवानी नेता मुल्ला मोहम्मद उमरका सबैभन्दा नजिकका नेता मानिन्छन् । उनीमाथि मुल्ला मोहम्मद उमरको भरोसा रहेको पाइन्छ ।

मुल्ला मोहम्मदर उमर पक्राउ परेपछि मुल्ला बरादर तालिवानको दोस्रो सबैभन्दा ठूला नेता थिए । अफगानी प्रशासनका वरिष्ठ अधिकारीहरुले मुल्ला बरादरले शान्ति वार्ताका लागि तालिवानी नेताहरुलाई सहमत गराउन सक्छन् भन्ने विश्वास लिएका थिए ।

सन् २०१८ मा कतारमा अमेरिकासँग वार्ता गर्नका लागि तालिवानको कार्यालय खुलेपछि उनलाई तालिवानको राजनीतिक दलको प्रमुख बनाइएको थियो । मुल्ला बरादर अमेरिकासँग वार्ता गर्न सकारात्मक मानिन्छन् ।

सन् १९९४ मा तालिवानको गठन गरेपछि उनले कमाण्डर र रणनीतिकारको भूमिका निर्वाह गरेका थिए । पछिल्लो समय उनी काबुल क्षेत्रमा सक्रिय थिए ।

को हुन् हिब्तुल्लाह अखुदजादा ?

हिब्तुल्लाह अखुदजादा अफगानिस्तानको तालिवान नेता हुन् । इस्लाम धर्मका विद्वान उनी कन्दाहारसँग सम्बन्ध राख्छन् । उनले तालिवानलाई दिशानिर्देश गरेको र वर्तमान अवस्थासम्म ल्याएको विश्वास गरिन्छ । काबुलपछिको सबैभन्दा ठूलो शहर कन्दाहारमा तालिवान समूहको पकड बनाउन उनको ठूलो हात छ ।

सन् १९८० को दशकमा उनले सोभियत संघको विरुद्ध अफगानिस्तानको विद्रोहमा कमाण्डरको भूमिका निर्वाह गरेका थिए । तर, उनको परिचय सैन्य कमाण्डरभन्दा धार्मिक विद्वानको रुपमा बढी रहेको छ । उनी अफगानिस्तानको तालिवान समूहको शीर्ष नेता बन्नुअघि धर्मसँग जोडिएका तालिवानका सबै आदेशहरु दिने गर्थे ।

उनले हत्यारा, अवैध सम्बन्ध राख्ने व्यक्ति, चोरी गर्ने आदीको हात काटेर सजाय दिनुपर्ने आदेश दिएका थिए । हिब्तुल्लाह तालिवानका पूर्वप्रमुख अख्तर मोहम्मद मन्सुरका प्रतिनिधि पात्र मानिने गर्छन् ।

मन्सुरको सन् २०१६ को अमेरिकी ड्रोन हमलामा मृत्यु भयो । मन्सुरले हिब्तुल्लाहलाई आफ्नो हकदार घोषित गरेका थिए ।

पाकिस्तानको क्वेटामा हिब्तुल्लाहको भेट तालिवानी शीर्षनेताहरुसँग भएको थियो । उक्त भेटमा उनलाई तालिवानी नेताहरुले तालिवानको प्रमुख बनाएका थिए । समाचार एजेन्सी एएफपीका अनुसार विरासतको पत्र उनलाई नियुक्तिको वैधानिकता दिनका लागि थियो । यद्यपि, उनको चयन सर्वसम्मत भएको फैसला भनिएको थियो ।

करिब आठ वर्ष हिब्तुल्लाहले अफगानिस्तानमा बिताएका छन् । उनको क्वेटामा शुरा समूहसँग पनि नजिकको सम्बन्ध रहेको बताइएको छ ।

– अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुकाे सहयाेगमा