काठमाडाैं । क्यानडाले २० हजार अफगानी नागरिकलाई शरण दिने बताएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अफगानिस्तानमा अहिले भइरहेकाे हिंसाका कारण मुलुक छाड्न बाध्य २० हजार अफगानीलाई शरण दिने बताएका हुन् ।
क्यानडाका प्रधानमन्त्री ट्रुडोले ट्वीटरमार्फत भनेका छन्, ‘अफगानिस्तानको अवस्था बिग्रिरहेकाे छ, त्यहाँका नागरिकको जीवन खतरामा रहेको छ । उनीहरूको सहयोगका लागि हामीले कार्यक्रम विस्तार गरिरहेका छाैँ । हामी २० हजार प्रभावित अफगानीलाई शरण दिनेछौँ ।’
क्यानडाले याे याेजनामा जाे बढी तालिवानबाट बढी खतरामा रहेका छन् उनीहरुकाे लागि पहिलाे प्राथमिकता दिने बताएकाे छ । योजनामा महिला, नेता, मानवअधिकार कार्यकर्ता, पत्रकार, अल्पसङ्ख्यक समुदाय लगायतका रहनेछन् ।
तालिबानले पछिल्लो समय लगातार अफगानिस्तानको प्रमुख सहरहरुमा कब्जा जमाइरहेको छ । अमेरिकाले पनि आफ्ना नागरिक फिर्ता लैजाने बताइसकेकाे छ । आफ्ना नागरिक फिर्ता लैजानका लागि अफगानिस्तानमा अमेरिकाले सेना पठाउन लागेकाे समाचार पनि विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरिरहेका छन् ।
एक करोड ८४ लाखका लागि सहयाेग आवश्यकता
अफगानिस्तानमा एक करोड ८४ लाख जनसंख्यालाई मानवीय सहयोगको आवश्यकता पर्न सक्ने अनुमान संयुक्त राष्ट्रसंघले गरेकाे छ ।
सरकारी सुरक्षा फौज र तालिबानबीच लडाइँ भइरहेकाे छ । यसले अझ भयावह स्थिति सिर्जना गर्न सक्छ । यही कारण एक करोड ८४ लाख मानिसलाई मानवीय आवश्यकता पर्न सक्ने अनुमान गरिएको संयुक्त राष्ट्रसंघको मानवीय मामिलासम्बन्धी समन्वय कार्यालय (ओसिएचए)ले जानकारी दिएको हो ।
द्वन्द्व र अन्य खतराहरूबाट सुरक्षाको खोजीमा धेरै मानिसहरू काबुल र अन्य ठूला शहरहरूमा मानिसहरु आइपुगेका छन् ।