विगत दुई दिनदेखि निरन्तर परेको पानी । काठमाडौंको अस्तव्यस्त सडक । पानी परेको बेलामा हुने अत्याधिक सवारीको चापले निश्चित समयमा निश्चित ठाउँमा पुग्न कठीन थियो । त्यसमाथि ढल निर्माण गर्ने र बाटो विस्तार गर्ने वाहानामा भत्काइएका सडक, पानी पर्नासाथ हिलो भइहाल्ने ।
बिहान १० बजे हतार–हतार अफिसको लागि निस्किएको थिएँ । पानी परेकै भए पनि उही भिडभाड, कोचाकोच, हतार–हतारसहित एउटा बस मेरो अगाडि आयो । सह–चालककाे चर्को आवाज तीनकुने, नयाँबानेश्वर यता खाली यता खाली उसको चिच्याहट सुन्दै गाडीमा बसेँ । पानि पर्न रोकए पनि मौसम खुलेको थिएन ।
एकछिनमा वर्षा हुन थाल्यो । ओर्लने बेलामा याद आयो– पानी नपरेको समयमा घरबाट निस्केको थिएँ, छाता त झाेलामा हाल्नै पो बिर्सेछु ।
गाडीबाट झरेँ…। अलि–अलि पानिमा भिज्दै अफिस पुगेँ । पुगेपछि बल्ल थाहा भयो हिजोको अधुरो काम पूरा गर्नु थियो । बाहिर पानि झन्झ–न् दर्किरहेको थियो । मलाई फेरि चोकसम्म जानुपर्ने थियो । पानी परिरहेको छ, अब कसरी जाने ? यतै कतै एकैछिनलाई छाता मागेर जाउँ एक मनले सोचेँ तर को सँग माग्नु ? तल्लो फ्ल्याटमा रहेको अफिसको दिदी आउनुभएको रहेछ । उहाँसँगै छाता मागेर जाने निर्णय गरेँ ।
‘दिदी’ मैले दिदिलाई बोलाएर भनेँ, ‘हजुरसँग छाता भए मलाई एकछिनको लागि दिनुस् न ।’
दिदिले हाँस्दै भन्नुभयो, ‘मेरो छाता अलि बिग्रेको छ है ! यसलाई बन्द नगरी जानू ।
‘हस्’ भन्दै छाता पाएपछि म दौडिहालेँ ।
बटोमा हिँड्दै गर्दा छातालाई आफ्नो शरीरबाट अलग राखेँ । पानी मज्जाले परिरहेको रहेछ । एकपटक छातालाई पनि नियालेँ अलि रातो रंगमा थियो । अरु कसैले हेरिहाले भने मेरै छातामा हेरेको हो कि जस्तो लाग्थ्यो । फेरि छाता ओढेँ, अनि हिडेँ ।
अलि पर पुगेपछि कलेज जाँदै गरेका तीन युवती एउटै छातामुनि छाता तानातान गर्दै हिँडिरहेका थिए । मेरो हिँडाइको गति उनीहरुको भन्दा केही तीव्र भएकाले मैले उनीहरुलाई एकै छिनमा भेटिहालेँ ।
म आफ्नै गतिमा हिँड्दै थिएँ, एउटीको मुखबाट आवाज सुनेँ, ‘लेडिज छाता’…! अरु दुई ओटी केटीले एकैचोटि मलाई हेरे। मैले पछाडि फर्केर हेरेँ ।
तिमी पनि ओड्ने हो लेडिज छाता ? मेरो प्रश्नले उनिहरुको हिँडाइ रोकियो ।
वास्तवमा तीन जनाले एउटै छाता ओड्नुपर्दा बीचमा बस्ने बाहेक अरु दुई जनाको शरीर आधा–आधा भिजिसकेको थियो । मेरो प्रश्न सुनेपछि छेउमै रहेकी उसकी अर्की साथीले भनि ‘जा न लेडिज छाता ओड्न’ । दुवैजना हाँसे । उ केही नबोली मेरो छातामुनि ओत लाग्न आई ।
नजिकैबाट एउटा स्कुटर गयो अलि गहिरो ठाउँ भएकोले पानी जमेको थियो स्कुटरको टायरले छ्यापेको पानीले मेरो जुत्ता र पाइन्टको अलिकति छेउ भिज्यो । खुट्टा उचाल्दै म अलि छेउमा गएँ । उ मज्जाले हाँसी । म के गरुँ ? असमञ्जमा परेँ ।
मेरो हिँडाO अलि छिटो भएकाले होला उसका साथी अलि पर छुटे ।
सन्ध्या…! अलि परबाट आवाज सुनियो । उसको नाम सन्ध्या रहेछ । मैले पनि ‘सन्ध्या’ भनेर बोलाएँ । उसले क्रोधमिश्रित नजरले मलाई हेरी । मैले उसलाई हाँसेरै हेरिरहेँ ।
तिम्रो कलेज कति टाढा छ ? मैले उसलाई सोधेँ ।
यहिँ हो, अलिकति पर ।
अनि तिमी पनि कलेज हिँडेको हो ? उसले तिमी भन्ने सम्बोधन गरेपछि मैले उसलाई हेरिरहेँ ।
के हेरेको ? थर्काउने शैलीमा उसले मलाई सोधि ।
होइन । मैले भनेँ ।
के होइन ?
कलेज हिँडेको होइन । मैले मधुरो स्वरमा जवाफ फर्काएँ ।
भुईँतिर फर्केर उसले मन्द मुस्कान छोडी । म आफ्नै गतिमा अघि बढीरहेँ ।
कति छिटो हिँडेको तिमी… विस्तारै गए हुँदैन ? उसले भनी ।
मलाई अलि हतार छ ।
तिमी गर्लफ्रेण्डको छाता पुर्याउन हिडेको हो ?
उसको यो प्रश्न सुनेर म हाँसे… ।
उसले फेरि भनी, यतै नजिकै हो भने तिमी जाउ है ! फेरl तिम्रो गर्लफ्रेण्डले देखि भने रिसाउली, यदि त्यस्तो हैन भने चाहिँ मलाई कलेजको गेटसम्म छोडिदेउ ल !
उसको कुराले मलाई अप्ठेरो पारिदियो । उसको आग्रहलाई स्वीकार गरौँ वा नगरौँ ? के गर्ने के नगर्ने ? हुन्छ भन्नु कि हुँदैन ? चुपचाप बसेँ । सडकको एक छेउमा जमेको पानीमा उसले खुट्टा टेकी । पानी उछिट्टीएर मेरो भिज्न बाँकि भएको जुत्ता पुरै भिज्यो ।
उसले मलाई हेरिरही । म उभिएँ ।
किन उभिएको ? छिटो हिँड… उसले फेरि थर्काउने शैलीमा भनी ।
तिम्रो साथीहरुलाई पखिनु पर्दैन ? मैले पछाडि फर्केर हेरेँ । हाम्रो हिँडाइ निकै छिटो भएछ क्यारे उनीहरु अलि परै थिए ।
रिसाउँदै उसले भनी उनिहरुले कलेज देखेका छैनन् र ? आइहाल्छन् नि !
उसको उत्तरले म अचम्ममा परेँ ।
उ रिसाउँदै बोली ‘म भिज्न लागिसकेँ छिटो हिँड न ।’ अब त उसले छाता पनि आफूले नै समातेर हिँड्न थाली । म के गर्नु, उसको पछि–पछि लागेँ ।
तिम्रो कलेज आएन ? मैले सोधेँ ।
किन ? तिमीलाई मसँग हिड्न मन लागेन ?
उसलाई के जवाफ दिउँ । म मौन बसेँ ।
मेरो गन्तब्य नजिकिँदै थियो । उसको कलेज कति टाढा होला ? म यही सोच्दै थिएँ ।
उ उभिइ । तिमी कहाँसम्म जाने ? उसले मलाई सोधि ।
मैले भनेँ, यहिँसम्म ।
मेरो कलेज आयो । उसले आफ्नो कलेज देखाइ । अब तिमी कता जाने ?
अझै अगाडी । मैले औँलाको इशाराले अगाडि देखाएँ ।
जाउ न त ! किन उभिएको ?
छाता उसको हातमा थियो । पानी एकनाशले परिरहेको थियो । म फेरि तत्काल फर्किनुपर्ने । फेरि छाता पनि आफ्नो थिएन । आएर दिदीलाई के उत्तर दिनु । छाता उसैलाई छोडिदिउँ भने आफू भिज्ने डर पनि थियो । उसले मलाई जानका लागि बिदा दिइसकेको थिई ।
बाई ! मैले छाताबाट शरीरलाई बाहिर निकाल्दै हात हल्लाएँ । उसले मेरो अनुहार नियालिरहेकी थिई । म पछाडि फर्केर हिँड्नै लाग्दा उसले भनी, भिज्छौ ‘तिमी’ ! लाउ लिएर जाउ तिम्रो ‘लेडी’ज छाता’ !
मैले हाँस्दै छाता समाएँ । एकैछिन मलाई हेर्दै उसले हात हल्लाईरही ।
– याे सामग्री हामीले नेचर खबर अनलाइनबाट साभार गरेका हाैँ ।