Aafno Khabar

अब बाघकाे संख्या बढ्छ : राष्ट्रपति भण्डारी

  • आफ्नो खबर
  • २०७८ साउन १४ गते ०८:४१ प्रकाशित

काठमाडाैं । राष्ट्रपति विद्या भण्डारीले नेपालले अन्तर्राष्ट्रियस्तरमा गरेको प्रतिबद्धताबमोजिम बाघको लक्षित संख्या पूरा हुने विश्वास व्यक्त गरेकी छन् ।

विश्व बाघ दिवसका अवसरमा शुभकामना सन्देशमार्फत राष्ट्रपति भण्डारीले नेपालले सन् २०१० लाई आधार वर्ष मानी सन् २०२२ सम्म बाघको संख्या १२१ बाट दोब्बर बढाइ २५० पुर्‍याउने लक्ष्य राखेको स्मरण गरेकी छन् ।

उनले हाल यो संख्या २३५ पुगिसकेको थाहा पाउँदा खुशी लागेको र बाँकी समयावधिमा तोकिएको लक्ष्य पूर्णरूपमा हासिल हुने विश्वस्त व्यक्त गरेकी हुन् ।

‘बाघको अस्तित्वः मानवको दायित्व’ भन्ने मूल सङ्कल्पका साथ मनाइने दिवसका सन्दर्भमा नेपालले बाघ संरक्षणमा उल्लेखनीय नतिजा हासिल गरी विश्वसामु विशेष सन्देश दिन सफल भएको जनाएकी छन् ।

राष्ट्रपतिको सन्देशमा पृथ्वीमा बाघको अस्तित्वमाथि नै सङ्कट आइसकेको अवस्थामा यसको पुनरुत्थान गर्न ठूलो चुनौती खडा भएको जनाइएको छ ।

‘बाघको बासस्थान व्यवस्थापन, बाघको चोरी सिकारी एवं गैरकानुनी व्यापार नियन्त्रणमा नेपाली सेनालगायतका सुरक्षा निकायको संरक्षणमा मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दाको सहभागिता र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगी संस्थाको निरन्तर सहकार्यबाट यस्तो सकारात्मक परिणाम प्राप्त गर्न सम्भव भएको हो’ सन्देशमा भनिएको छ ।