Aafno Khabar

अष्ट्रेलियाको सिड्नीमा फेरि चार हप्ता लकडाउन

  • आफ्नो खबर
  • July 29, 2021 प्रकाशित

एजेन्सी । अष्ट्रेलियाको सिड्नी र वरिपरिको क्षेत्रमा लकडाउनको समयावधि फेरि थप भएकाे छ । काेराेना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि राज्य सरकारले सिड्नी क्षेत्रमा थप चार हप्ता लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको हो ।

सरकारी अधिकारीहरूले बुधबार दिएको जानकारीअनुसार न्यू साउथ वेल्सभर थप १७७ जना सङ्क्रमित भएका छन् ।

सिड्नीमा अब अगस्ट २८ सम्म निरन्तर लकडाउन हुने भएको छ । नयाँ थप गरिएको लकडाउन अवधिका लागि प्रतिबन्धात्मक व्यवस्थाहरु पनि थप गरिएको छ । किनमेल गर्नुपरेमा स्थानीय सरकारको अनुमतिमा घरदेखि १० किलोमिटर टाढासम्म मात्रै जान पाइने व्यवस्था गरिएको छ ।

अस्ट्रेलियाको सबैभन्दा ठूलो सहरमा डेल्टा भेरिअन्ट फैलिएपछि गएको जुन महिनाको अन्त्यबाट घरमा नै बस्न आदेश दिइएको छ । सिड्नीमा मात्रै यस वर्ष कोरोनाभाइरसबाट दुई हजार ५०० भन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् ।

सानास्तरको महामारी नियन्त्रणमा लिएका भिक्टोरिया र साउथ अस्ट्रेलियाले भने बुधबारबाट लकडाउन अन्त्य भएको घोषणा गरेका छन् । तर सिड्नीमा भने निषेधाज्ञा सेप्टेम्बर वा त्योभन्दा पछिसम्म जारी रहनसक्ने विज्ञहरूले अनुमान गरेका छन् ।

लगातार भइरहेको लकडाउनप्रति कतिपय मानिसले भने विरोध जनाएका छन् । उनीहरूले सिड्नी, मेलबर्नलगायतका विभिन्न शहरहरूमा यसअघि प्रदर्शन पनि गरेका थिए ।