Aafno Khabar

के कोभिड भ्याक्सिन अब चक्कीमा पनि लिन पाइएला ?

  • आफ्नो खबर
  • २०७८ साउन १३ गते २१:५६ प्रकाशित

काठमाडाैं । कोरोनाविरुद्ध लड्ने क्षमता विकास गर्न अहिलेसम्म इन्जेक्सनमार्फत भ्याक्सिन दिने गरिएको छ । तर, भविष्यमा भ्याक्सिनमा हुने कम्पोनेन्ट ट्याब्लेट वा पिल्समार्फत पनि लिन पाइने भएकाे छ ।

दक्षिणी स्वीडेनको सबैभन्दा ठूलो साइन्स पार्कमध्ये एक हो ‘मेडिकन भिलेज’ । त्यहाँको एउटा ल्याबमा रसायनविज्ञ इन्गेमाे एन्डरसनसँग एउटा पातलो प्लास्टिक इनहेलर, जुन एउटा सलाइको डिब्बाबराबर छ । यो सानो उपकरणले कोभिडविरुद्धको युद्धमा ठूलो भूमिका निभाउन सक्ने विश्वास एन्डरसनको समूहलाई छ । यसैमार्फत भविष्यमा भ्याक्सिनलाई पाउडरका रूपमा घरमै लागेर लिन सकिनेछ ।

खासगरी अस्थमाका बिरामीका लागि इनहेलर बनाउने कम्पनी फर्मका सीईओ जोहान बावोर्ड भन्छन्, ‘यसलाई सजिलैसँग बनाउन सकिन्छ । याे निकै सस्तो पनि छ । तपाईंले केवल सानो प्लास्टिकको स्लिप हटाउनुपर्छ । त्यसपछि भ्याक्सिन इनहेलर सक्रिय हुन्छ । तपाईंले यसलाई मुखमा राखी लामो सास लिएर भ्याक्सिन लिन सक्नुहुन्छ ।’

स्टकहोमको इम्युनोलोजी रिचर्स स्टार्ट अप (आईएसआर)ले सुक्खा पाउडरका रूपमा भ्याक्सिन बनाएको छ । आइकोनभाे (Iconovo) नामको कम्पनीले आईएसआरसँग साझेदारी गरेको छ ।

यो भ्याक्सिनमा कोभिड–१९ भाइरस प्रोटिनको प्रयोग गरिएको छ । यसले ४० डिग्री सेल्सियस तापमानसम्म सहन सक्छ । यता, फाइजर, मोडर्ना र एस्ट्राजेनेकाको भ्याक्सिन आरएनए र डीएनए प्रविधिमा आधारित छन् । अहिलेसम्म कोरोना भाइरुसविरुद्ध बनेका सबै भ्याक्सिन तरल रूपमा छन् । यस्ता भ्याक्सिनलाई सिसीमा माइनस ७० डिग्री सेल्सियससम्म तापक्रम राख्नुपर्छ । त्यसैले फ्रिजरहरूको आवश्यकता पर्छ, जसलाई कोल्ड चेन भनिन्छ ।

तर, नयाँ बन्न लागेको पाउडर भ्याक्सिनको सबैभन्दा ठूलो फाइदा भनेकै यसलाई कोल्ड चेनबिना सामान्य तापमानमा समेत वितरण गर्न सकिन्छ । आईएसआरकी संस्थापक ओला विनक्विस्ट भन्छिन्, ‘यो भ्याक्सिन स्वास्थ्यकर्मीको मद्दतबिना नै लिन सकिन्छ ।’

ओला स्वीडेनको प्रमुख मेडिकल युनिभर्सिटी क्यारोलिन्स्का इन्स्टिच्युडमा संक्रामक रोगकी प्राध्यापक हुन् । उनको कम्पनीले अहिले आफ्नो भ्याक्सिनलाई कोभिड–१९ को बीटा (दक्षिण अफ्रिकी) र एल्फा (बेलायती) भेरियन्टमा परीक्षण गरिरहेको छ ।

खोप उत्पादक नभएको दक्षिण अफ्रिकालाई पाउडर भ्याक्सिनले ठूलै मद्दत गर्न सक्ने कम्पनीको विश्वास छ । यहाँ मौसम पनि तातो हुन्छ । अनि बिजुलीको आपूर्ति पनि सीमित छ । त्यसैले दक्षिण अफ्रिकामा खोपलाई लिएर थुप्रै चुनौतीहरू छन् ।

आईएसआरले बनाएकाे यो भ्याक्सिनको परीक्षण हुन बाँकी नै छ । अहिलेका तरल भ्याक्सिनभन्दा यो कति सुरक्षित छ, जवाफ त्यसपछि नै पाइनेछ ।

अहिलेसम्म यसको परीक्षण मुसामा मात्र गरिएको छ । आईकोनवो र आईएसआरले आगामी दुई महिनामा मान्छेमा परीक्षण सुरु गर्न आवश्यक फण्ड जुटाइसकेका छन् । यो भ्याक्सिनलाई लिएर संसारका मेडिकल समुदायमा उत्साह छ । यसबाट कोभिड महामारीविरुद्धको लडाइँमा क्रान्तिकारी मद्दत पुग्ने विश्वास गरिएको छ । किनकि, भ्याक्सिनको भण्डारण र वितरण निकै सहज हुनेछ । क्यारोलिन्स्कामा ग्लोबल ट्रान्स्फर्मेसन हेल्थका प्राध्यापक स्टेफन स्वार्टलिङ पिटरसन भन्छन्, ‘जुनजुन क्षेत्रमा पुग्न कठिन छ, त्यहाँ यसको मद्दतबाट मानिसको ज्यान बचाउन सकिन्छ ।’

संसारभरका कम्पनीहरू पाउडर भ्याक्सिनको परीक्षण गरिरहेका छन् । यता स्वार्टलिङ हामीलाई आइकोनवोदेखि दश मिनेट पैदलको दूरीमा एउटा अर्को स्टार्टअप ‘विश्वसनीय विधि’बारे बताउँछन् ।

फर्मास्युटिकल कम्पनी जाइकम (Ziccum) यस्तो विधिको परीक्षण भनिरहेकाे छ, जसको मद्दतले भविष्यमा तरल भ्याक्सिनलाई एयर ड्राइ गर्न सकिनेछ ।

यसबाट विकासशील देशमा यस्तो फिल एण्ड फिनिस केन्द्र बनाउन सकियोस्, जहाँ भ्याक्सिनलाई सिसीहरूमा भर्न सकिनेछ । अनि ती देशहरूले भ्याक्सिन उत्पादनको अन्तिम चरणलाई आफ्नै जमिनमा पूरा गर्न सक्नेछन् ।

भ्याक्सिन पाउडरलाई स्टेराइल वाटर सोल्युसनमा मिलाएर सिसीहरू र इन्जेक्सनको मद्दतबाट लगाउन सकिनेछ । कम्पनीका सीईओ गोराना कोनरेडसन भन्छन्, ‘यो विधिले नयाँ आयाम खोल्नेछ । जस्तो कि, नाकबाट वा गोलीका रूपमा भ्याक्सिन लिन सकिनेछ । यसका लागि अझै धेरै अनुसन्धान र प्रयाेगकाे जरुरी हुन्छ । तर, सैद्धान्तिक रूपमा यो सम्भव रहेको भन्न सकिन्छ ।’

जेनसेनले कोभिडको एक डोजमा दिइने भ्याक्सिन बनाएको छ । बेलायतमा यसलाई गत महिना प्रयोग अनुमति दिइएको छ । यो कम्पनीले जाइकमसँग मिलेर एक पाइलट प्रोजेक्टमा काम गरिरहेको छ, जसमा उसको एयर ड्राई क्षमताको परीक्षण गर्नु पनि एक हो । यो प्रोजेक्ट कोभिडसँग सम्बन्धित हो वा यसको प्रयोग अन्य बिरामीहरूमा पनि हुन्छ, यसबारे अहिलेसम्म यो ठूलो दबाई कम्पनीले केही बताएको छैन । कम्पनीका प्रवक्ताले भनेका छन्, ‘यो सोध होइन, टेकनिक विकासमा केन्द्रित छ, जसको प्रयोग भविष्यमा भ्याक्सिनको भण्डारण र खोप अभियानलाई सजिलो पार्नमा गरिनेछ ।’

भ्याक्सिन लगाउन डराउनेहरूका लागि पाउडर टेकनिक सजिलो हुनेछ । यसले तरल भ्याक्सिनको पर्यावरण तुलनामा निकै विकल्प दिने छ । फ्रिज चलाउनका लागि बिजुलीको खपत निकै कम हुनेछ । आम रूपमा भ्याक्सिनको सिसीहरूलाई डिप फ्रिजरमा राखिन्छ । यसले निकै धेरै मात्रामा बिजुली खपत हुने गरेको छ । पाउडर भ्याक्सिनमा यस्ता झमेला नहुने भएकाले संसारका सबै भागमा पुर्‍याउन सकिन्छ ।

कोनार्डसन भन्छन्, ‘जबसम्म सबै सुरक्षित छैनन्, तबसम्म कोही सुरक्षित छैनन् । तपाईंलाई थाहा छैन, संसारको कुनै कुनामा कोरोना भाइरस बाँकी रह्यो भने के हुन्छ भनेर ।’

भ्याक्सिनको उत्पादन बढाउनमा काम गरिरहेको आईएनजीओ कोएलिसन फर एपिडेमिक प्रिपेयर्डनेस इनोवेसन (सेपी) की प्रवक्ता इनग्रिड क्रोमेन भन्छिन्, ‘महामारी अन्त्यका लागि संसारका सबै जनसंख्यामा भ्याक्सिन पुर्‍याउन सक्ने क्षमताको विकास गर्नुपर्छ । पाउडर आधारित भ्याक्सिन अहिले पनि निर्माणको सुरुवाती चरणमा छ । यसमा अझै थुप्रै काम गर्न बाँकी छ । यसको निर्माण क्षमता बढाउनु छ । तर, यो सफल भयो भने भ्याक्सिनमा मानिसहरूकाे पहुँच सजिलो हुनेछ । भ्याक्सिन बिग्रेर जाने समस्या घट्छ । यसलाई सजिलैसँग वितरण गर्न सकिनछ । तरल खोपमा जाने खर्च पनि कम हुन्छ ।’

–बीबीसी हिन्दीबाट ।