Aafno Khabar

संघीय संसदको अधिवेशन आजदेखि, सबै तयारी पूरा

  • आफ्नो खबर
  • २०७८ साउन ३ गते ०८:३१ प्रकाशित

काठमाडौं । पुनःस्थापित प्रतिनिधिसभाको बैठक आइतबार बस्दैछ । संसदको आठौं अधिवेशनको पहिलो बैठक अपराह्न चार बजे बस्न लागेको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधिसभालाई पुनर्स्थापित गर्न सर्वोच्च अदालतको संवैधानिक इजलासले असार २८ गते परमादेश जारी गरेको थियो ।

आइतबारको बैठकमा अघिल्लो सरकारले ल्याएका केही विधेयकहरुलाई प्रक्रियामा लगिने कार्यसूची छ ।

अर्थमन्त्री जनार्दन शर्माले अध्यादेशबाट ल्याइएको बजेट संसदमा पेश गर्ने जानकारी यसअघि नै दिइसकेका छन् ।

पहिलो बैठकको कार्यसूची भने बिहान १० बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले टुंगो लगाउने बताइएकाे छ । दुई तिहाइ मत ल्याएर सत्तामा गएको नेकपा एमाले आइतबारदेखि प्रतिपक्षमा बस्ने भएको छ ।

कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेको बेला शुरू हुन लागेको अवधिवेशन सञ्चालनका लागि स्वास्थ्य मापदण्डको पालनालगायत व्यवस्थासहित सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिइएको छ ।