Aafno Khabar

काेराेनाका कारण गुमाए एकै दिन श्रीमान्–श्रीमतीले ज्यान

  • आफ्नो खबर
  • २०७८ असार २५ गते ०८:२९ प्रकाशित

इलाम । कोरोना सङ्क्रमणका कारण इलाममा एकै दिन श्रीमान् श्रीमतीको ज्यान गुमाएका छन् । संक्रमणका कारण माङसेबुङ गाउँपालिका–५ का ७९ वर्षीय टेकबहादुर लावती र उनकी श्रीमती ७३ वर्षीया लक्षीहाङमा लावतीले ज्यान गुमाएका हुन् ।

श्रीमान् टेकबहादुरको बिहीबार बिहान र श्रीमती लक्षीहाङमाको अपरान्ह साढे ३ बजे निधन भएको हो । लावती परिवारका सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएकामा दुई जनाको निधन भएको हो । एकै परिवारका दुईको निधन भएसँगै गाउँमा निकै त्रास फैलिएको छ ।

स्थानीय रेडियो माङ्सेबुङका स्टेशन मेनेजर रहेका छोरा सुमन लावतीसमेत भाइरस सङ्क्रमणका कारण होम आइसोलेशनमा छन् । ६ दिनअघि उनीहरुलाई सङ्क्रमण पुष्टि भएको थियो ।

सङ्क्रमित सबै होमआइसोलेशनमा थिए । मृतक दम्पतीका दुई छोरा, एक बुहारी र दुई नाति कोरोना सङ्क्रमित रहेको बताइएको छ । स्थानीयवासी राम योङहाङका अनुसार परिवारका अन्य सदस्यको अवस्था भने सामान्य रहेको छ ।

इलाममा काैभिड सङ्क्रमितको सङ्ख्या दुई हजार १४४ पुगेको छ । सङ्क्रमितमध्ये एक हजार ७२१ जना निको भइसकेका छन् भने ५२ जनाको यसअघि नै निधन भइसकेको थियो ।