Aafno Khabar

चीनबाट आइपुग्यो ८ लाख डोज खोप

  • आफ्नो खबर
  • २०७८ असार २५ गते ०८:०५ प्रकाशित

काठमाडौं । नेपालले चीनसँग खरिद गरेको कोरोना भाइरसविरुद्धको ८ लाख डोज खोप नेपाल आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले शुक्रबार बिहान भेरोसेल खोप ल्याएको हो ।

खोप लिनको लागि निगमको जहाज बिहीबार चीन गएको थियो । शुक्रबार ८ लाख डोज खोप आइपुगेको र अब निरन्तर खोप आउने स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले जानकारी दिए । साउन ८ गतेसम्म तीन वटा उडानमार्फत खोप ल्याउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सरकारले चीनको सिनोफार्म कम्पनीबाट भेरोसेल खोप खरिद गरेको हो । ६० वर्षमुनि उमेर समूहकालाई प्राथमिकताका आधारमा खोप लगाउने स्वास्थ्य मन्त्रालयको तयारी छ । कोभ्याक्समार्फत आउने खोप पनि छिट्टै ल्याउने मन्त्रालयले जनाएको छ । यसअघि कोभ्याक्समार्फत तीन लाख ४८ हजार मात्र खोप आएको थियो ।

नेपालमा अहिलेसम्म ८ लाख ५१ हजार ३ सय जनालाई दोस्रो मात्रा र २६ लाख ११ हजार ८ सय ७ जनालाई पहिलो मात्राको खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।