Aafno Khabar

रहेनन् बलिउडका अभिनेता दिलिप कुमार

  • आफ्नो खबर
  • July 7, 2021 प्रकाशित

काठमाडाैं । बलिउड कलाकार दिलिप कुमारको ९८ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ ।

बलिउडमा ‘ट्रेजेडी किङ’ ले परिचित दिलिप कुमारको बुधबार बिहान ७ः३० बजे मुम्बईको खार हिन्दुजा अस्पतालमा निधन भएको सो अस्पतालका डाक्टर पार्करलाई उद्धृत गरी भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

बलिउडका सिनेमाको इतिहास बोकेका दिलिप कुमारको निधन प्रति प्रधानमन्त्री नरेन्द्र मोदी लगायत कलाकारकाले दु:ख व्यक्त गरेका छन् ।

११ डिसेम्बर १९२२ मा तत्कालीन ब्रिटिश इण्डियाको पेशावर(हाल पाकिस्तान)मा जन्मिएका दिलिप कुमारको वास्तविक नाम मोहम्मद युसुफ खान थियो । करिब २२ वर्षको उमेरमा उनले फिल्ममा काम सुरु गरेका थिए । उनले १९४४ मा फिल्म ‘ज्वार भाटा’ मा काम गरेका थिए । यद्यपि यो फिल्मले धेरै चर्चा पाएन ।

दिलीप कुमारले करिब पाँच दशकको करियरमा ६० वटा जति फिल्ममा काम गरेका छन् ।