काठमाडाैं । उत्तर कोरियाका नेता किम जोङ उनले कोरोना (कोभिड–१९) महामारीमा मुलुकका शीर्ष अधिकारीहरुको त्रुटीले मुलुक गम्भीर संकटको अवस्थामा पुगेको बताएका छन् ।
उत्तर कोरियाको राष्ट्रिय सञ्चारमाध्यमले नेता किमले कोरोना भाइरसको महामारीलाई लिएर भएको ‘त्रुटि’ का लागि शीर्ष अधिकारीहरुको निन्दा गरेको जनाएको छ । तर मुलुकमा कस्तो संकट देखियो भनेर केही उल्लेख नगरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसलाई उत्तर कोरियामा महामारीको गम्भीरताको संकेतमा रुपमा अर्थ लगाइएकाे छ ।
यसअघि उत्तर कोरियाले आफ्नो मुलुकमा कोभिडको कुनै संक्रमण नरहेको जिकीर गरेको थियो । महामारीबाट बच्न उत्तर कोरियाले आफ्ना सीमाहरु बन्द गरेको थियो ।
अन्तर्राष्ट्रिय नाकाबन्दी र सीमा बन्दले त्यहाँ खाद्य संकट उत्पन्न भएकाे पनि अनुमान गरिएकाे छ ।
सरकारी समाचार एजेन्सी केसीएनएका अनुसार किमले पार्टी नेताहरुको एक विशेष बैठकमा शीर्ष अधिकारीमाथि लापरबाहीको आरोप लगाएका हुन् । यही मामिलामा कारबाही स्वरुप शक्तिशाली स्थायी कमिटीका एक सदस्यसहित उच्च अधिकारीहरुलाई जिम्मेवारीबाट हटाएको बताइएको छ ।