Aafno Khabar

मेलम्चीमा भेल उर्लिएपछिको त्यो रात…

  • आशिष पण्डित
  • २०७८ असार ११ गते १०:२२ प्रकाशित

असार महिनाको पहिलो दिन । दिउँसोदेखि नै पानी परिरहेको थियो । बेलाबेलामा मौसम खुल्थ्यो पनि । साँझको पाँच बज्न लागेको थियो । केही साथीहरु ट्राउट माछा खान जाने योजनामा रहेछन् । त्यतिबेला म चनौटेस्थित घरमा बसिरहेको थिएँ । साथीहरु लिन आएपछि म पनि उनीहरुसँगै तिम्बुतिर लागेँ । ५ बजेतिर हामी तिम्बु ट्राउट माछा फार्ममा पुग्यौँ । हामी ६ जनाको समूहमा गएका थियौँ । हामीले माछा बनाइदिन आग्रह गर्यौँ । त्यतिबेला मेलम्ची खोला अलि धमिलो बगिरहेको थियो ।

खोलामा लेदो आएपछि माछा फार्ममा पानी आउन बन्द भएछ । त्यहाँ काम गर्ने मानिसहरु माछा बचाउनतर्फ लागे । हाम्रा लागि माछा बनाइदिन उनीहरुले नभ्याउने भए । त्यसपछि हामी त्यहाँबाट फर्कियौँ । खोलामा बाढी अलि बढ्न थालिसकेको थियो । धमिलो लेदोसहित अलि गन्ध पनि आइरहेको थियो खोलाबाट । हामी खोलाको भिडियो खिच्दै मोटरसाइकलमा चनौटेतर्फ फिर्ता भयौँ । चनौटे बजार पुग्नभन्दा केही माथि भण्डारी ट्राउट फार्ममा पनि हामीले माछा सोध्यौँ । त्यहाँ पनि माछा नपाइने भएपछि चनौटेमा रहेको हाम्रो साथीको हेलम्बू रिभर साइड रिसोर्टमा जाने विचार गर्यौँ र त्यहीँ गयौँ । नजिकै रहेको एउटा माछा फार्मबाट माछा ल्याएर हामी त्यहीँ बस्यौँ ।

खोला बेस्सरी सुसाइरहेको थियो । बिजुली गयो । साथीहरुसँग बसिरहेको बेलामा मलाई अचानक बाहिर निस्कन मन लाग्यो । अरु साथीहरु भित्र थिए । म बाहिर निस्किएँ । बाढी ह्वात्तै आयो । चार पाँच मिटर अगाडि राखिएका कुर्सी, टेबल सबै बगायो ।

‘बाढी आयो साथीहरु भाग’ भनेर म कराएँ । त्यसपछि त्यहाँ भागाभाग मच्चियो । हेर्दाहेर्दै सबै बगायो । २ जना साथीहरु रिसोर्टको किचनमा माछा बनाउन छिरेका थिए । उनीहरु भित्रै फसे । एकैछिन हामी अतालियौँ । तर एकैछिनमा पानीको छाल र लेदोबाट हाम्रा दुवैजना साथी निस्किए । त्यसपछि हामी माथि–माथि भाग्न थाल्यौँ । वरिपरि कोलाहल मच्चियो लेदो मिसिएको बाढीले एकाएक सबै बगायो । चनौटे बजारको मेलम्चीको किनारपट्टि रहेका करिब १० घर बाढीसँगै बगे । खोलामा जुन किसिमको पाँगो माटोको लेदो बगेर आएको थियो त्यसले धेरैलाई सोच्न बाध्य बनायो । आखिर यस्तो माटो कहाँबाट बगेर आयो ? कारण खोजी सुरु भयो । पहिरोबारे मानिसहरुले कम अनुमान गरेका थिए । मेलम्ची खोलामा यस्तो किसिमको बाढीले सबै अलमलमा परेका थिए ।

रात छिप्पिँदै गइरहेको थियो । बाढीको त्रास थियो । घरबारविहीन भएको पीडा एकातिर थियो । अर्कोतिर ज्यान बचाउने कसरी भन्ने अन्योलता पनि । हेर्दा हेर्दै बाढीले बगरमा परिणत गरायो चनौटे बजार । मेलम्चीबाट आउने बाटो पनि बन्द भयो । पानी रोकिएको थिएन । अझै के–के हुने हो थाहा थिएन ।

असार १ गते आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बु क्षेत्र ओभाएको छैन । बाढीले घर पुरिएका स्थानीयका आँखा पनि चिसै छन् । यहाँका मानिसको मुहार मेलम्ची खोलाजस्तै धमिलो देखिन्छ ।