काठमाडौं । सरकारले पुन: इन्धनको मूल्य बढाएकाे छ । नेपाल आयल निगमले बुधबार राति १२ बजेपछि लागू हुने गरी इन्धनको मूल्य बढाएको हो ।
निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले बढाएको जनाएको छ । मूल्य बढेपछि अब पेट्रोल प्रतिलिटर १२७ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ११० रुपैयाँ पुगेको छ ।
यस्तै, निगमले हवाई इन्धन अन्तर्राष्ट्रिय उडानको मूल्य प्रति किलोलिटर २० अमेरिकी डलर र आन्तरिक उडानको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकाले नेपालमा पनि महंगो भएको निगमले जनाएको छ ।
गत जेठ २२ गते निगमले पेट्रोल, डिजेल/मटितेल तथा हवाई इन्धन (आन्तरिक)को साबिकको बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको थियो । निगमले डलरसँग नेपाली मुद्राको अवमूल्यनका कारण भविष्यमा अझ मूल्य बढ्न सक्ने बताएको छ ।