Aafno Khabar

गण्डकी प्रदेशको मुख्यमन्त्री बने कृष्णचन्द्र नेपाली पोखरेल

  • आफ्नो खबर
  • २०७८ जेष्ठ २९ गते १९:२२ प्रकाशित

काठमाडाैं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।

मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए । उनले अब ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ ।

नेकपा एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङले पनि दाबी पेश गरेका थिए ।

गुरुङले जनता समाजवादी पार्टी (जसपा)को प्रदेश कमिटी र प्रदेशसभा सदस्यबाट पदमुक्त भइसकेका राष्ट्रिय जनेमार्चाका कृष्ण थापाको समर्थनमा दाबी पेश गरेपछि विपक्षी गठबन्धनका सांसदहरुले प्रदेश प्रमुखको कार्यालयमा धर्नामा बसेका थिए ।

गण्डकीमा मुख्यमन्त्री नियुक्त कृष्णचन्द्र नेपाली २०७४ सालको प्रदेश सभाको निर्वाचनमा नवलपरासी पूर्व १(१) बाट निर्वाचित भएर प्रदेश सभामा प्रवेश गरेका थिए । प्रदेशमा नेपाली कांग्रेसको संसदीय दलका नेता उनी नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य पनि हुन् ।

२००५ जेठ ५ गते तनहुँको राम्चे (हाल ब्यास–११) मा बाबु गोवर्द्धन शर्मा र आमा द्रौपदा शर्मा दम्पतीबाट माहिलो छोराको रूपमा जन्मिएका थिए ।

कांग्रेसको १२ औं महाधिवेशनमा लुम्बिनी अञ्चलबाट केन्द्रीय समितिमा निर्वाचित कृष्णचन्द्र नेपाली त्यसअघि ४ पटक (२०४८ देखि २०६७ सम्म) कांग्रेस नवलपरासीको सभापतिमा निर्वाचित भएका थिए ।

विगत ४ दशकदेखि सक्रिय राजनीतिमा क्रियाशील नेपालीले प्रजातन्त्रको पुनःस्थापनाको लागि भएको आन्दोलनको क्रममा पटक–पटक गरी ३ वर्षभन्दा बढी जेल जीवन बिताइसकेका छन् ।