Aafno Khabar

स्वास्थ्यमन्त्री तामाङकाे सम्पत्ति : कानुनमन्त्री हुँदा ३० ताेला सुन अहिले २२ ताेला मात्र !

  • आफ्नो खबर
  • June 10, 2021 प्रकाशित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पत्ति विवरण बुझाएका हुन् ।

सार्वजनिक विवरणानुसार उनकी श्रीमती उषाकला राईको नाममा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ मा अढाईतले एउटा घर छ । मन्त्री तामाङ र राईको नाममा काठमाडौं, खोटाङ, सिन्धुपाल्चोक र मोरङका विभिन्न स्थानमा जग्गा रहेको छ ।

उनीहरुसित २२ तोला सुन छ । विभिन्न बैंक तथा वित्तीय संस्थामा केही नगद मौज्दात र सेयर रहेको छ भने ऋण पनि विवरणमा उल्लेख छ । सम्पत्ति विवरणानुसार राईको नाममा एउटा कार र तामाङको नाममा एउटा मोटरसाइकललगायत रहेको छ ।

कानुनमन्त्री हुँदा तामाङ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सम्पत्ति विवरण सार्वजनिक पहिलो मन्त्री थिए । त्यतिबेला उनकाे काठमाडौंको गोकर्णेश्वरीमा साढे ३ आनामा बनेको एक तले घर, ३० तोला सुन, सिन्धुपाल्चोकमा केही जग्गा र श्रीमती उशाकला राईको नाममा मोरङमा भएका जग्गाहरुको विवरण सार्वजनिक गरेका थिए ।

यसपटक भने मन्त्री तामाङको सम्पत्ति विवरणमा २२ तोला सुनमात्र भएको बताइएकाे छ।

कानुनमन्त्री हुँदा ७० लाख रुपैयाँ ऋण रहेकाे तामाङकाे यसपटक ऋण ३५ लाखमात्र भएको उल्लेख छ । कृषि विकास बैंकमा १६ लाख रुपैयाँ ऋण रहेको र अन्यमा १९ लाख ऋण भएको उनले उल्लेख गरेका छन् ।