Aafno Khabar

असार १ देखि निषेधाज्ञा खुकुलो हुने, यस्तो छ सरकारको तयारी

  • आफ्नो खबर
  • २०७८ जेष्ठ २५ गते १८:०४ प्रकाशित

काठमाडाैं । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ संक्रमण न्यून भइरहेका बेेलामा सरकारले विस्तार निषेधाज्ञा हटाउने तयारी गरेकाे छ । गृह मन्त्रालयका अनुसार मुलुकभर जारी गरिएको निषेधको आदेश कार्यान्वयन र संक्रमणको अवस्थाबारे समीक्षा भइरहेकोे र त्यसैका आधामा असारदेखि कसरी अघि बढ्ने भन्ने कुराको निर्क्याेल हुनेछ ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले जिल्लाबाट रिपोर्टिङ लिने क्रम जारी रहेको जानकारी दिए । ‘यसअघि ‘लकडाउन’ थियो, असारदेखि भने ‘लुजडाउन’ लागू गर्ने योजना छ, मुलुकभरको सुझाव आएपछि त्यसको आधारमा आवश्यक निर्णय लिइने छ,’ दाहालले भने, ‘केही सहजीकरण भने पक्कै हुनेछ ।’

संक्रमणभन्दा निको हुने दर दोब्बर भएपछि र मृत्युदर समेत न्यून भएकाले निषेधाज्ञामा केही खुकुलो गर्ने योजनाका साथ अहिले काम भइरहेको छ । आ–आफ्नो जिल्लामा आदेश लागू गर्ने र हटाउने अधिकार सरकारले प्रजिअलाई नै दिएकाले गृहको आवश्यक समन्वय र निर्देशनमा काम अघि बढ्नेछ ।

कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञा तथा कोरोना परीक्षणको दायरा वृद्धि भएपछि पछिल्लो दिन संक्रमितभन्दा निको हुने दर उच्च भइरहेको तथ्यांकले देखाएको छ । कोरोनाको पहिलो लहरमा जारी गरिएको बन्दाबन्दी एक्कासि खोल्दा संक्रमणले गति लिएको उदाहरण प्रस्तुत गरी गृह प्रवक्ता दाहालले यसपालि भने त्यो गल्ती नदोहोरिने स्पष्ट पारे ।

उनका अनुसार आवश्यकताका आधारमा बिस्तार खुकुलो पारिनेछ । उक्त अवधिभर सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लव, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्लव, फुटसल, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, संग्रहालय, चिडियाखाना, दर्शक सहितको खेलकूदका गतिविधि भने अझै खुल्ने छैन ।

मुख्यतः कृषि कर्मको बेला भएकाले त्यसलाई प्राथमिकता दिने योजना छ । दाहालले भने, ‘दैनिक जनजीवनसँग जोडिने कुरा प्राथमिकतामा पर्छन्, वर्षाको समय छ, मल बीउ, कृषि कर्म, अत्यावश्यक जनशक्ति व्यवस्थापन, सामग्री ओसारपसार र विकास निर्माणलाई प्राथमिकता दिइने तर पूर्णस्वास्थ्य मापदण्ड पालनामा भने कडाइ गरिनेछ । निषेधाज्ञाका कारण कोरोना नियन्त्रणमा ठूलो सहयोग मिलेको स्वास्थ्य मन्त्रालय बुझाइ छ । त्यसैले पनि एकैचोटी खुला गर्न नहुने पक्षमा मन्त्रालय पनि रहेको छ । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे यो साताको समीक्षाका आधारमा उपत्यकाको निषेधाज्ञाको निर्धारण हुने बताउँछिन् ।

पछिल्लो समयमा संक्रमण घटेकाले पनि केही खुकुलो हुने आशा आमनागरिकले पनि लिएका छन् । निषेधाज्ञा उल्लंघन गरी यही २० गतेदेखि भने मुलुकभर नै मानिसको चहलपहल बढेको पाइएको छ । यातायातका साधनसमेत बाक्लिएका छन् । उपत्यकामा समेत त्यो अवस्था देखिएको छ । अहिले नै लापरवाही गर्ने अवस्था नरहेको जनस्वास्थ्यविद्को भनाइ छ ।

जोखिम कायम रहेकाले अझै एक महिना विशेष ध्यान दिनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी बताउँछन् ।

दोस्रो कोरोनाको लहरसँगै नेपालमा गत वैशाख ७ गते बाग्लुङबाट निषेधको आदेश जारी गर्नेक्रम शुरू भएको थियो । संक्रमण नियन्त्रणका लागि वैशाख १३ गते बाँके र १४ गते सुर्खेतमा गरिएकामा १६ गतेदेखि उपत्यकासहित धेरै जिल्लाले निषेधाज्ञा जारी गरेका थिए । जेठ मसान्तसम्म खोटाङ र मनाङ बाहेकका ७५ जिल्लाले निषेधाज्ञा जारी संक्रमण नियन्त्रणमा सक्रियता देखाइरहेका छन् ।