काठमाडाैं । कोरोना संक्रमणको दोस्रो लहरका कारण गत २ सातमा विदेशमा थप ४१ जना नेपालीको ज्यान गएकाे छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार कतारमा ८, भारतमा २९, फ्रान्समा १, माल्दिम्समा १, बेल्जियममा १ तथा पोर्चुगलमा १ जना नेपालीको संक्रमणका कारणले ज्यान गएको हाे ।
अहिलेसम्म भारतसहित विश्वभर २८ मुलुकमा रहेका ४ सय २३ नेपालीको कोराेना संक्रमणका कारण ज्यान गएकाे संघले जनाएको छ ।
संघ अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशमा ५४ देशमा १ लाख ७ हजार ८६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ भने ती मध्ये ९९ हजार २ सय ५७ जना नेपालीले कोरोना जितेका छन् ।
संघले आफ्नो विश्वव्यापी सञ्जाल मार्फत ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियान सञ्चालन गरी आर्थिक तथा स्वास्थ्य सामग्री नेपाल पठाउने क्रम जारी राखेकाे छ ।
याे अभियानमार्फत ओमानबाट ५६० अक्सिजन सिलिण्डर र ती सिलिण्डरको लागि चाहिने ५६० रेगुलेटर चीनबाट ल्याएर नेपाल सरकारलाई हस्तान्तरण गरि सकिएको छ । यस्तै, चीनबाट ५०० अक्सिजन कन्सन्ट्रेटरको अर्डर गरिएको छ र सकेसम्म छिटो नेपाल पुर्याउन पहल भइरहेको जनाएको छ ।