काठमाडाैं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रतिवादमा उत्रिन आह्वान गरेका छन् ।
प्रतिनिधिसभा भंग गरेर चुनावमा जाने सरकारकाे निर्णयपछि नेपालले यस्ताे उद्घाेष गरेका हुन् । ‘षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ,’ नेता नेपालले शनिवार बिहान फेसबुमार्फत् भनेका छन्, ‘प्रतिगमन दोहोरिएको छ ।’
गत मध्यरातमा प्रतिनिधिसभा विघटन गरी निर्वाचनको मिति तोकिएपछि नेपाल विरोधमा उत्रिएका हुन् । संविधानका मर्ममाथि प्रहार गरी सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल भएकाे भनी उनले टिप्पणीसमेत गरेका छन् । उनले याे प्रतिगमन भाग २ हाे पनि भनेका छन् ।
‘केपी ओलीको यो कदमको भर्त्सना गर्दछु । यसको प्रतिवाद डटेर गर्न आह्वान गर्छु’ नेपालले लेखेका छन् । यसअघि गत साल पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भंग गरेर चुनावकाे मिति घाेषणा गरेकी थिइन् तर सर्वाेच्च अदालतले उक्त सरकारकाे उक्त निर्णय उल्टाएर संसद पुनर्स्थापना गरेकाे थियाे ।
यही अवधिमा पूर्व नेकपा छुट्टिएर माओवादी केन्द्र र नेकपा एमाले बन्याे । त्यसपछि ओली सरकारकाे विराेधमा नेपाल समूह लागिरहेकाे छ । पार्टीमा नै रहेर दवै समूहले एक अर्कामा दाेषाराेपण गरिरहेका छन् ।