काठमाडाैं । राष्ट्रपतिले वैकल्पिक सरकार गठनका लागि दिएकाे समयावधिमा २ जनाकाे दाबी पेश भएकाे छ । संविधानको धारा ७६ को उपधारा ५ अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकी थिइन् ।
प्रधानमन्त्रीका लागि केपी ओलीले फेरि दाबी प्रस्तुत गरेका छन् । उनले आफ्नो पक्षमा १५३ सांसद रहेको दावी गरेका छन् । यस्तै, विपक्षी गठबन्धनका तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवा पनि १ सय ४९ सांसदको हस्ताक्षर राष्ट्रपतिसमक्ष पेश गरेका छन् ।
प्रधानमन्त्री ओलीकाे दावी पत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महतो र एमालेका अध्यक्ष एवम् दलका नेता केपी शर्मा ओलीको हस्ताक्षर रहेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन् ।
अब राष्ट्रपतिले देउवा वा ओली कसलाई नियुक्त गर्ने भन्नेमा निर्णय लिनेछिन् । उनले कानुनविद्हरुकाे परामर्शपछि निर्णय लिने प्रतिक्रिया दिइसकेकी छिन् ।
प्रतिनिधिसभाको कुल २७५ सिटमध्ये चार सिट खाली छ । नेकपा माओवादी केन्द्रले एमालेतिर लागेका चार सांसद कारवाही परेपछि ४ सिट रिक्त रहेको हो । अन्य चार सांसद निलम्बनमा छन् ।
निलम्बित सांसदसमेत गणना गर्ने हो भने पनि प्रतिनिधिसभामा जम्मा २७१ सांसद छन् । तर ओली र देउवाले हस्ताक्षर बुझाएको संख्या आधार मान्ने हो भने कुल सांसद संख्या ३०२ पुग्छ । केही सांसद दुवै पक्षले आफ्नोतर्फ गणना गरेका छन् । ओलीले एमालेका १२१ सांसदकै समर्थन गणना गरेका छन् भने उक्त पार्टीका माधवकुमार नेपालसहितका नेताहरु देउवाकोसाथमा शीतल निवास पुगेका थिए ।
जसपाका उपेन्द्र यादव, बाबुराम भट्टराईहरु पनि दुवै तिर गणना भएका छन् । ओलीले जसपाका ३२ सांसदको समर्थन आफ्नो पक्षमा रहेको दावी राष्ट्रपतिसमक्ष पेश गरेका छन् भने सोही पार्टीका उपेन्द्र यादव, बाबुराम भट्टराईलगायतका नेता देउवाको साथमा शीतल निवास गएका थिए ।