Aafno Khabar

बन्न सकेन विपक्षी गठबन्धन, ओली प्रधानमन्त्री हुने पक्का

  • आफ्नो खबर
  • २०७८ बैशाख ३० गते २०:०९ प्रकाशित

काठमाडौं । प्रधानमन्त्रीमा पुन: केपी शर्मा ओली नियुक्त हुने पक्का भएकाे छ । कांग्रेस– माओवादी– जसपा गठबन्धनले तोकिएको समयमा बहुमत जुटाउने सम्भावना टरेका कारण राति ९ बजेपछि ओली नै प्रधानमन्त्री बन्ने निश्चित भएकाे हाे ।

ओली हटाउने सन्दर्भमा जसपाको महन्थ ठाकुर पक्ष असहमत भएपछि ओली प्रधानमन्त्री हुने निश्चित भएकाे हाे । एमालेको माधव नेपाल पक्षले राजीनामा नदिने भएपछि विपक्षी गठबन्धन सरकार बनाउनबाट पछि हटिसकेकाे छ ।

राष्ट्रपतिले दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत दावी गरेर आउनका लागि दिएको समय बिहीबार राति ९ बजेबाट सकिन्छ । त्यसअघि नै कांग्रेस बैठकले वैकल्पिक सरकारको दावी नगर्ने निर्णय गरिसकेको छ ।

विपक्षीले बहुमत जुटाउन नसकेपछि राष्ट्रपतिले अब संविधानको धारा ७६ (३) अनुसार केपी ओलीलाई प्रधानमन्त्री बनाउने बाटो खुलेको छ । दुई वा दुईभन्दा बढी दलहरुले बहुमत सिद्ध गर्न नसके ठूलो दलको नेतालाई प्रधानमन्त्री बनाइने संविधानको धारा ७६ (३) मा प्रावधान छ ।