Aafno Khabar

म्यानमारको सैनिक दमनमा ५ सय जनाको मृत्यु

  • आफ्नो खबर
  • March 30, 2021 प्रकाशित

काठमाडौं । सैन्य ‘कू’ विरुद्ध आन्दोलनरत म्यानमारका नागरिकहरुले सडकमा फोहोर फालेर विरोध जनाएका छन् । अवज्ञा आन्दोलनअन्तर्गत म्यानमारवासीले आजबाट सडकमा फोहोर फालेर विरोध जनाउन सुरु गरेका बीबीसीले जनाएको छ ।

प्रदर्शनकारीले फोहोर फालेर सैनिक सरकारको विरोध जनाउन सामाजिक सन्जालमार्फत् आह्वान गरेका छन् । गत फेब्रुअरी १ मा म्यानमारको सेनाले सत्ता हातमा लिएको थियो ।

सेनाको सो कदमविरुद्ध आन्दोलन भइरहेको छ । आन्दोलनकारीमाथि सेनाले निर्मम दमन गरेको छ । स्थानीय सञ्चार संस्थाका अनुसार विरोध प्रदर्शनमा हालसम्म ५०० जनाको मृत्यु भइसकेको छ ।

सोमबारमात्रै म्यानमारमा सैनिक दमनमा परी १४ जनाको मृत्यु भएको छ । म्यानमारको सेनाले हवाई हमलासमेत गरेको छ । सेनाको दमनका कारण म्यानमारवासी नागरिक भागेर थाइल्याण्डतर्फ गएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।