काठमाडौं । भारतको राजधानी नयाँ दिल्ली तेस्रो वर्ष लगातार विश्वकै सबैभन्दा प्रदुषित सहरको सूचीमा परेको छ ।
‘आइक्यु–एयर’ नामक सो स्वीस ग्रुपले फोक्सोमा हानि पुर्याउने सबैभन्दा सुक्ष्म धुलोको कण, पीएम २.५ को मात्राका आधारमा विश्वव्यापी हावाको गुणस्तर मापन गर्ने गर्दछ । यही सूचीमा भारतको नयाँ दिल्ली नम्बर १ मा परेको छ भने राजधानी काठामाडौं चाहिँ ११ औँ स्थानमा आएको छ ।
सूचीमा विश्वका सबैभन्दा प्रदुषित ५० सहरमध्ये ३५ वटा भारतमै रहेका छन् । रिपोर्टका अनुसार २०२० मा नयाँ दिल्लीको पीएम२.५ को औसत प्रदुषण स्तर ८४.१ रहेको थियो जुन बेइजिङको भन्दा दुई गुणा धेरै हो । कुनै समय विश्वकै प्रदुषित शहरमा पर्ने बेइजिङ, २०२० मा १४ औँ स्थानमा आएको हो ।
पीएम २.५ युक्त कण भएको हावासँग लामो समय सम्पर्कमा आउँदा अर्थात त्यस किसिमको हावामा सास फेर्दा यसले क्यान्सर, मुटु रोगलगायत खतरनाक स्वास्थ्य समस्या उत्पन्न गराउन सक्छ ।
यसअघि ग्रिनपिस दक्षिणपूर्वी एसियाको विश्लेषण र आइक्यु–एयरले गरेको नयाँ रिसर्चमा नयाँ दिल्लीमा वायु प्रदुषणका कारण २०२० मा ५४ हजार मानिसको प्रारम्भिक मृत्यु भएको पत्ता लागेको थियो । कोरोना भाइरसका कारण जारी लकडाउनले विश्वभरि नै वार्षिक पीएम २.५ स्तरमा ११ प्रतिशतले गिरावट ल्याएपनि भारत बांग्लादेश र पाकिस्तान पछिको सबैभन्दा प्रदुषित मुलुक हो ।
काठमाडौंको पीएम २.५ स्तर चाहिँ ६०.२ रहेको छ । रिपोर्टका अनुसार काठमाडौंमा मुख्यगरी सवारी साधनबाट निस्कने धुँवाका कारण बढी प्रदुषण हुने गरेको छ । रोयटर्स