Aafno Khabar

आन्दोलनमा मारिएको आशंका गरेका ब्यक्ति ४० वर्षपछि भारतको अदालतबाट रिहा 

  • आफ्नो खबर
  • २०७७ चैत्र ४ गते २२:५४ प्रकाशित

काठमाडौं। ४० वर्षसम्म भारतको जेलमा बसेका नेपालका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) लाई छाड्न अदालतले आदेश दिएको छ ।

कोलकाता उच्च अदालतका मुख्य न्यायाधीश थोटथिल बी राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयको इजलासले उनलाई रिहा गर्न बुधबार साँझ आदेश दिएको हो । यसअघि उच्च अदालतले दार्जिलिङ अदालतको मिसिल मगाउन आदेश दिए पनि दीपकका वकिल हिरक सिन्हाले यसअघि नै त्यो मिसिल पेश गरिसकेको जनाएको छ ।

अदालतले दीपकलाई अझै कारागारमा राख्नु नपर्ने उल्लेख गर्दै नजिकको आफन्त प्रकाशचन्द्र तिम्सिनाको जिम्मा लगाउन भनेको छ । सन् १९८२ को जेनुवरीमा उनी अदालती ट्रायलका लागि मानसिकरुपमा स्वास्थ्य नभएको अदालतले भनेको थियो । त्यसपछि जाँचको रिपोर्ट अदालतमा नबुझाइँदा उनले ४० वर्षसम्म कारागारमा बस्नु परेको हो।

इलामको माई नगरपालिका–१० बाट दुर्गाप्रसाद १९ वर्षको छँदा तोरी बेच्न भन्दै मंगलबारे गएका थिए । त्यहाँबाट आएको पैसा लिएर उनी काम खोज्दै दार्जिलिङ पुगेका थिए । दार्जिलिङमा हत्या आरोपमा पक्राउ परेका उनी विभिन्न जेलमा सारिए, यता परिवारले उनी आन्दोलनमा मारिएको हुनसक्ने आशंका गरेको थियो ।

दार्जिलिङमा भएको एक आगलागीमा उनको कागजपत्र पनि जलेको थियो । त्यसपछि विक्षिप्त भएका उनी मानिसकरूपमा कमजोर बन्दै गएका थिए । अदालतले स्वास्थ्य जाँच गरेर सुनुवाइका लागि ल्याउन भनेको थियो । तर, उनको पक्षमा बोल्न मानिसहरु नभएपछि जाँचका लागि पनि लगिएको थिएन । उनलाई ट्रायलविनै विभिन्न कारागारहरू घुमाइएको थियो ।

कोलकाताको दमदम कारागारमा दाधेश्याम दास नामक कैदीले उनलाई १० वर्षअघि देखेका थिए । गत जेनवरीमा पनि दिपकलाई त्यहीँ देखेर सोधपुछ गर्दा उनी ४० वर्षदेखि सुनुवाइविना कारागारमा रहेको खुलेको थियो ।  दासले थुनामुक्त भएपछि वेस्ट बंगाल रेडियो क्लबमा खबर गरेका थिए । त्यसपछि विभिन्न सञ्चारमाध्यममा उनी ४० वर्षदेखि जेलमा रहेको खबर सार्वजनिक भएको थियो र उनको पक्षमा माहोल बनेको हो ।

दुर्गाप्रसादका दाइ प्रकाश, आफन्त गोपाल तिम्सिना र सामाजिक काम गर्ने इन्द्र बस्नेतले कारागारमा गएर १० फागुन २०७७ मा उनलाई भेटेका थिए । नाता प्रमाणित गरेपछि कारागारले भेट गर्न दिएको थियो । त्यसपछि उनलाई तारेखमा छाड्न माग गर्दै उच्च अदालतमा निवेदन दिइएको थियो ।