Aafno Khabar

अमेरिकाको ४६ औँ राष्ट्रपतिमा जो बाइडेनले लिए सपथ

  • आफ्नो खबर
  • January 21, 2021 प्रकाशित

वासिङटन । अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले क्यापिटल हिलमा बुधबार आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ लिएका छन् ।

अमेरिकी सर्वोच्च अदालतका प्रधान न्यायाधीश जोन रोबर्टसले सपथ गराएका थिए । यसअघि उपराष्ट्रपति निर्वाचित कमला ह्यारिसलाई सर्वोच्च अदालतकै न्यायाधीश सोनिया सोतोमायोरले सपथ गराएका थिए ।

कोभिड–१९ र सुरक्षा चुनौतीका कारण राष्ट्रपतिको सपथ कार्यक्रमलाई सामान्य बनाइएको थियो । लाखौं मानिस उपस्थित हुने प्रचलन रहे पनि यसपटक थोरै संख्याका मानिस मात्र समारोहमा उपस्थित थिए ।

उद्घाटन समारोहमा सम्बोधनका क्रममा राष्ट्रपति बाइडेनले भने “आजको दिन प्रजातन्त्रको विजय हो, एउटा आशा र एकताको दिन हो ।”

यसैबीच, अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको सपथ ग्रहण समारोहमा सहभागीसमेत नभएर ह्वाइट हाउसबाट बुधबार बिहान गृहराज्य फ्लोरिडातर्फ गएका थिए ।

अमेरिकी इतिहासमा नयाँ राष्ट्रपतिलाई बधाइसमेत नदिइ बहालवाला राष्ट्रपतिले ह्वाइट हाउस छाडेको समकालीन अमेरिकामा यो पहिलो घटना हो । यद्यपी यसअघि अमेरिकी इतिहासमा तीन पटक सन् १८०१, १८२९ र १८६९ मा यस्तो घटना भइसकेको छ ।

ह्वाइट हाउसबाट अमेरिकी सेनाको हेलिकप्टरबाट ज्वाइन्ट बेस एन्ड्रु पुगेका ट्रम्पले त्यहाँ उपस्थित सानो संख्याका समर्थक र परिवारका सदस्यलाई सम्बोधन गरी अमेरिकाको नयाँ प्रशासनले अमेरिकी जनताको भावना अनुसार काम गर्ने विश्वास व्यक्त गरेका थिए ।