Aafno Khabar

यस्तो छ कोरोना खोप लगाउने तयारी

  • आफ्नो खबर
  • २०७७ माघ ८ गते प्रकाशित

तस्बिर स्राेत : अनप्ल्यास ।

काठमाडाैं । विभिन्न देशहरुमा उत्पादन भइरहेको कोरोना भाइरस विरुद्धको खोपको प्रभावकारिता हेरी हाल विश्वका केही देशहरुले खोप लगाउन सुरु गरिसकेका छन् । बेलायतमा मंसिर २३ गते एक ९१ वर्षिय नागरिकबाट सुरु भएको कोरोना भाइरस विरुद्धको खोप लगाउने अभियानमा अहिले २४ लाख भन्दा धेरै सहभागी भइसकेका छन् । यसैगरी अमेरिकाले मंसिर २९ गते स्वास्थकर्मीलाई दिएर सुरु गरेको खोप हालसम्म १ करोड ४७ लाख अमेरिकीले लगाइसकेका छन् । समाचार संस्था ब्लुमबर्गका अनुसार ५१ देशहरुमा ४ करोड ४० लाख भन्दा धेरै खोपहरु लगाइसकिएको छ ।

नेपालमा पनि भारतले १० लाख खोप उपलब्ध गराउने घोषणासँगै खोप अभियानको तयारी शुरु भएको छ । सहजरुपमा खोप भित्र्याउन औषधि (तेस्रो संशोधन) अध्यादेश २०७७ जारी गरेको नेपालले यसका लागि विभिन्न मुलुकहरुसँग सहकार्य गरिरहेको छ ।

नेपालले खोप भित्र्याउन कुन कुन देशहरुसँग सहकार्य गरिरहेको छ ?

विश्व स्वास्थ्य संगठन, यूरोपियन युनियन र फ्रान्सद्वारा कोभिड-१९ को निदान, उपचार र खोपहरूको लागि नयाँ र न्यायिक पहुँच प्रदान गर्ने उद्देश्यको साथ सुरु गरिएको कोभ्याक्स मार्फत विश्वका अविकसित देशहरुलाई कोरोना विरुद्धको खोप प्रदान गरिने व्यवस्था छ । यस अन्तर्गत अविकसित देशको ३% जनसंख्यालाई पहिलो चरण र १७% जनसंख्यालाई दोस्रो चरण गरी कुल २०%  मानिसलाई  खोप लगाइनेछ । नेपालले पनि पहिलो चरणमा आफ्नो जनसंख्याको ३% अर्थात ९ लाख ११ हजारका लागि हुने खोप प्राप्त गर्नेछ ।

नेपालले सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको ‘कोभिसिल्ड’ नामक खोपका लागि आपतकालीन प्रयोग स्वीकृति प्रदान गरेको छ । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले बनाएको यो खोपको प्रभावकारिता ७०% – ९०% रहेको तथ्य विभिन्न अनुसन्धानले पुष्टि गरेको छ । आपतकालीन प्रयोगको स्वीकृति प्राप्त भएको ‘कोभिसिल्ड’ खोप पाउने देशहरूको सूचीमा नेपाल रहेको जानकारी भारतकाे विदेश मन्त्रालयले माघ ६ गते दिएको थियो । माघ ७ गते भारतले उपलब्ध गराउने खोपबारे जानकारी दिन स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त पत्रकार सम्मेलन आयोजना गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री त्रिपाठीले १० लाख डोज खोप नेपाललाई अनुदान स्वरुप भारतले प्रदान गर्ने पत्रकार सम्मेलनमा दिए । भारतकाे अनुदानमा नेपाललाई प्राप्त हुनलागेकाे खोप बिहिबार नै नेपाल आइपुग्ने जानकारी पनि मन्त्री त्रिपाठीले दिए ।

यसैगरी नेपाललाई रुसले पनि आफुले उत्पादन गरेको कोरोना विरुद्धको खोप ‘स्पुतनिक भी’ उपलब्ध गराउने बताएको छ । रुसले नेपाललाई कोरोना विरुद्धको २ करोड ५० लाख खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएपनि साे खोप कहिलेसम्म र कति मात्रामा आयात गर्ने भन्ने प्रष्ट भइसकेको छैन ।

खोप व्यवस्थापन र प्रयोगका लागि तयारी के छ ?

विश्वका विभिन्न भागमा उत्पादन भइरहेका कोरोना विरुद्धको खोपको भिन्नाभिन्नै विशेषता रहेको छ । तिनकाे उत्पादन, प्रयोग एवं भण्डारण फरकफरक भएकोले हामीले आयात गर्ने खोप अनुरुप नै व्यवस्थापनकाे तयारी गर्नुपर्ने हुन्छ ।

नेपालमा २ देखि ८ डिग्री सेन्टिग्रेड तापक्रममा भण्डारण गर्न सक्ने कोल्ड चेन भएको भौतिक संरचना रहेको छ । नेपालमा हाल २ देखि ८ डिग्री सेन्टिग्रेड तापक्रममा भण्डारण गर्न सक्ने कोल्ड चेनमा करीब १ करोड ७७ लाख खोपको डोज भण्डारण गर्न सकिन्छ । नेपालले आपतकालीन स्वीकृति दिएको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको ‘कोभिसिल्ड’ खोप २ देखि ८ डिग्री सेन्टिग्रेड तापक्रममा भण्डारण गर्न सकिन्छ ।

यसैगरी नेपालको ३% जनसंख्या अर्थात ९ लाख ११ हजार जनसंख्यालाई पर्याप्त खोप भण्डारण गर्ने क्षमता भएको -२० डिग्रीको कोल्ड चेन पनि रहेको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले पुस २८ गतेको पत्रकार सम्मेलनमा दिएका थिए । यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले नेपालमा रहेका करीब करिब १६ हजार खोप केन्द्रलाई परिचालित गरी खोप लगाउने व्यवस्था मिलाउने जानकारी दिएका थिए ।

खोप आयात पछि पहिलो चरणमा जनसंख्याको ३% लाई मात्र खोप लगाउने बताइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीका अनुसार पहिलो चरणमा अग्रपंक्तिमा खट्ने स्वास्थ्यकर्मी,  सुरक्षाकर्मी, सरसफाइकर्मीहरुलाई खोप लगाउने योजना छ भने दोस्रो चरणमा रोग प्रतिरोध क्षमता कम भएका र ज्येष्ठ नागरिकहरुलाई लगाउने योजना छ ।

दक्षिण एसियाका अन्य देशमा खोपको तयारी कस्तो छ ?

भारतले माघ ३ गते सरसफाई गर्ने महिलालाई कोरोना विरुद्धको खोप लगाएर देशव्यापी अभियान सुरु गरेको छ । त्यहाँ पहिलो दिन नै २००,२९७ जनालाई खोप लगाइएको छ । ‘कोभिसिल्ड’ खोप नै भारतले पनि प्रयोग गरिरहेको छ । साथै भारत बायोटेक नामक स्वदेशी कम्पनीले विकास गरेको कोभ्याक्सीन नामक खोपलाई पनि भारत सरकारले आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ। तर उक्त खाेपकाे परीक्षणका क्रममा केही त्रुटी भएकाे क्वार्ज इण्डिया नामक अनलाइनकाे एक रिपाेर्टमा जनाइएकाे छ ।

पाकिस्तान र बङ्गलादेशले अक्सफर्ड-एस्ट्राजेनेकाको खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिएका छन् । पाकिस्तानले चीनबाट सिनोफर्मको खोपको दश लाखभन्दा बढी डोजका लागि अनुमति दिएको छ भने अन्य खोपहरुका लगि रुस र चीनसँग सहकार्य गरिरहेको छ । बङ्गलादेशले नोभेम्बरमा सिरम इन्स्टिच्युट अफ इन्डियाबाट उत्पादित खोपको ३ करोड डोज खरिद गर्न सम्झौता गरिसकेको छ । यसै अनुरुप जनवरीको अन्तसम्म उस्ले खोप पाउने र फेब्रुअरीको पहिलो साताबाट खोप अभियान सुरु गर्ने समाचारमा जनाइएको छ ।

भारतको इण्डियन एक्सप्रेसका अनुसार भुटान र माल्दिभ्सले भारतमा उत्पादित खोप माघ ७ गते नै पाइसकेका छन् ।  भारतका विदेश मन्त्रालयले माघ ६ गते प्रकाशित गरेको सूचनामा नेपाल सँगसँगै भुटान, बङ्गलादेश, माल्दिभ्स, म्यानमार र सिसेल्सलाई पनि खोप उपलब्ध गराउने जनाएको थियाे । यसै सूचनामा श्रीलंकाको सम्बन्धमा उनीहरूको नियामक निकायको निर्णय पर्खिरहेको उल्लेख गरिएको थियाे ।

-याे सामग्री हामीले southasiacheck.org बाट लिएका हाैँ ।