Aafno Khabar

बेलायतमा फेरि ‘लकडाउन’

  • एजेन्सी
  • २०७७ पुष २१ गते प्रकाशित

बेलायतमा फेरि ‘लकडाउन’ घोषणा गरिएको छ । सोमबार टेलिभिजन सम्बोधनमार्फत बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले राष्ट्रव्यापी लकडाउनको घोषणा गरेका हुन् ।

पछिल्लो समय बेलायतमा नयाँ किसिमकाे कोरोनाभाइरसका संक्रमित ह्वात्तै बढेपछि लकडाउन गरिएकाे हाे । पछिल्लो समय बेलायतमा दैनिक काेराेना संक्रमितको संख्या ५० हजार नाघेको छ । सोमबारमात्र त्यहाँ ५८ हजार ७ सय ८६ जनामा कोरोना पुष्टि भएको थियो भने ४ सय ७ जनाले ज्यान गुमाएका थिए ।

लकडाउन मंगलबारदेखि सुरू हुने र फेब्रुअरी १५ सम्म लागु हुने बताइएको छ । लकडाउनका बेला मेडिकल र अन्य अत्यावश्यक काम नपरी घरबाहिर निस्कन पाइने छैन । अत्यावश्यक सामान किन्न पनि दिनमा एक पटकमात्र बाहिर निस्कन पाइने छ।

सबै विद्यालय र क्याम्पसहरू बन्द गरिएका छन् । टेक अवे सुविधाका लागिमात्र रेष्टुरेन्ट, बार खोलिने बताइएकाे छ । बेलायतमा अहिलेसम्म कोरोना संक्रमणबाट २७ लाख मानिस संक्रमित भएका छन् । ७५ हजारको मृत्यु भइसकेकाे छ ।