अन्टार्कटिका महादेशमा पनि कोरोना भाइरसको सङ्क्रमण पुगेको छ । अन्टार्कटिका महाद्वीपमा रहेका चिलीका सेनाहरुले त्यहाँ रहेको आफ्नो बर्नार्डाे ओहिगिन्स अनुसन्धान केन्द्रमा रहेका ३६ जनामा सङ्क्रमण देखिएको बताएको हो ।
सङ्क्रमण देखिएका ३६ मध्ये २६ जना सैनिक र १० जना मर्मत सम्भार गर्ने कर्मचारी हुन् । उनीहरु सबैलाई चिली बोलाइएको छ । केही दिन अघिमात्र चिलीका जलसेनाले त्यस अनुसन्धान केन्द्रमा सामग्री आपूर्ति गर्ने र मानिस पुर्याउने एक पानी जहाजमा तीन जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको बताएको थियो ।
अब विश्वकै सातै महादेशमा कोरोना भाइरस पुगेको छ । सार्गेन्टो एल्डीआ नाम गरेको जहाज २७ नोभेम्बरमा अनुसन्धान केन्द्र पुगेको थियो र १० डिसेम्बरमा चिली फर्किएको थियो ।
चिलीको टेलकुआनो शहरमा जलसेना बेसमा पुगेपछि जहाजका तीन जना क्रु मेम्बरमा सङ्क्रमण देखिएको थियो । चिलीका जलसेनाले अन्टार्कटिकाको यात्रामा गएका सबै जनाको पीसीआर परीक्षण गरेको र सबैको रिपोर्ट नेगेटिभ आएको दाबी गरेको छ ।
बर्नार्डाे ओहिगिन्स अनुसन्धान केन्द्र चिलीको अन्टार्कटिकामा रहेका चार स्थायी बेसमध्ये एक हो, जसलाई उसका सेनाले सञ्चालन गर्छन् । गएको अगस्टमा अन्टार्कटिका क्षेत्रमा अनुसन्धान गर्ने संस्था ब्रिटिश अन्टार्कटिक सर्भेले कोरोना भाइरसका कारण त्यस क्षेत्रमा काम गर्न रोक लगाएको जनाएको थियो ।