टिकटकमा कोभिड–१९ को प्रतिबन्धका नियम तोडेको भिडियो पोष्ट गर्ने अमेरिकाको ओरेगनकी नर्सले जागिर गुमाएकी छिन् । सालेम हेल्थ नामक अस्पतालले एक विज्ञप्ति जारी गरी उनलाई कामबाट निकालेको जानकारी दिएको सीएनएनले उल्लेख गरेकाे छ ।
भिडियोमा एस्ली ग्रेम्सले स्क्रब्स र स्तेथोस्कोप लगाएर देखिएकी छिन् । उनले भिडियोको क्याप्सनमा लेखेकी छन्, ‘जब मेरा सहकर्मीले थाहा पाउँछन् कि म अझै यात्रा गर्छु, बाहिर निस्कदा मास्क लगाउँदिन र मेरा छोराछोरीलाई प्लेडेटमा जान दिन्छु ।’
गत नोभेम्बर २७ मा पोष्ट गरेको भिडियो भाइरल बनेपछि ग्रेम्सलाई प्रशासनिक बिदामा पठाइएको थियो । भिडियोलाई उनको अकाउन्टबाट हटाइए पनि सामाजिक सञ्जालमा अझै पनि सो भिडियो सेयर भइरहेको छ ।
भिडियो भाइरल बनेपछि तत्काल अस्पतालले सो भिडियो महामारीको गम्भीरतालाई अवमूल्यन गरेको बताएको थियो ।