अमेरिकका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले अमेरिकी नागरिकलाई एक सय दिन मास्क लगाएर कोरोना भाइरस संक्रमणलाई नियन्त्रणमा सघाउन आग्रह गरेका छन् । हरेक अमेरिकीले मुख छोप्नेगरी मास्क लगाउने हो भने कोभिड १९ संक्रमितको संख्यामा उल्लेख्य कमी ल्याउन सकिने उनले बताएको सीएनएनलाई उदृत गरी बीबीसीले जनाएको छ ।
अमेरिकामा अहिलेसम्म १ करोड ४० लाखभन्दा धेरै मानिसमा कोभिड १९ को संक्रमण देखिएको छ भने २ लाख ७५ हजार मानिसले ज्यान गुमाइसकेका छन् ।
सीएनएनसँगको अन्तर्वार्तामा बाइडेनले भने, ‘म सर्वसाधारणमा याे आग्रह गर्छु, केबल १०० दिनमात्र मास्क, सधैंका लागि होइन । मलाई लाग्छ यसले संक्रमितको संख्या घट्न योगदान दिनेछ । यदि त्यसो भयो भने मास्क र भ्याक्सिनले यो संख्यामा कमी ल्याउने छ ।’
संविधानविदहरु अमेरिकी राष्ट्रपतिसँग त्यहाँका नागरिकलाई मास्क लगाउन निर्देशन दिने कानुनी आधार नभएको बताएका छन् । तर, अमेरिकी सरकारी सम्पत्तिमा राष्ट्रपतिले कार्यकारी अधिकारको प्रयोग गर्नसक्ने व्यवस्था छ । त्यसैमा टेकेर सबै सरकारी कार्यालयमा मास्क प्रयोग अनिवार्य गराउने उनको रणनीति छ ।