Aafno Khabar

कोरोना भाइरसले महिलामा ठूलो संकट : २५ वर्ष पछाडि धकेलिने सम्भावना

  • एजेन्सी
  • December 4, 2020 प्रकाशित

एन वुमनको नयाँ अन्तर्राष्ट्रिय डाटा अनुसार कोरोनाभाइरस महामारीका कारण लैङ्गिक समानतामा भएका वृद्धि–विकासको मामिलामा २५ वर्ष पछि धकेलिने सम्भावना देखिएको छ ।

महामारी प्रभावका कारण महिला पहिलाको तुलनामा घरको काम र परिवारको रेखदेख बढी नै गरिरहेका छन् । यूएन वुमन डिप्युट एक्जिक्यूटिभ अनिता भाटिया भन्छिन्, ‘हामीले पछिल्लो २५ वर्षमा जे जति काम गरेका छौं, त्यो एक वर्षमा गुम्न सक्छ ।’

रोजगार र शिक्षाको अवसर गुम्न सक्छन् । महिला खराब मानसिक र शारीरिक स्वास्थ्यको शिकार हुनसक्छन् ।

अनिता भाटियाका अनुसार यतिबेला महिलामा रेखदेखको जिम्मेवारी बढेको छ । यसले सन् १९५० ताकाको लैङ्गिक रुढीवादी पुनः कायम हुने हो कि भन्ने खतरा पैदा भएको छ । महामारी अघि १६ अर्ब घण्टाको बेतलबी काम लगभग तीन चौथाई महिलाले गरिरहेको भनेर अनुमान लगाइएको थियो । यो संसारभरी हरेक दिन हुन्थ्यो ।

दोस्रो शब्दमा भन्ने हो भने कोरोनाभाइरस अघि एक घण्टाको बेतलबी काम पुरुषले र तीन घण्टाको काम महिलाले गर्दै आएका थिए । अब यो आँकडा थप बढेको छ । अनिता भाटिया भन्छिन्, ‘यदि महामारी अघि महिलाको बेतलबी काम पुरुषभन्दा तीन गुणा थियो भने मलाई विश्वास छ महिलाको बेतलबी कामको घण्टा अब दोब्बर भएको हुनुपर्छ ।’

यद्यपि, यूएन वुमनको ३८ सर्वेक्षणमा मुख्य रुपमा निम्न र मध्यम आय भएको देशमा ध्यान केन्द्रीत गरिएको छ तर औद्योगिक देशको आँकडाले पनि यही तस्बिर देखाउँछ ।

अनिता भन्छिन्, ‘सबैभन्दा चिन्ताको विषय यो हो कि धेरैजसो महिला अहिले पनि काममा फिर्ता भएका छैनन् । सेप्टेम्बर महिनामा नै अमेरिकामा दुई लाख पुरुषको तुलनामा ८ लाख ६५ हजार महिलाले जागिर छोडेका थिए । यसबाट के बुझ्न सकिन्छ भने उनीहरुमाथि हेरविचारको बढी जिम्मेवारी थियो र यसका लागि अन्य कुनै विकल्प थिएन ।’

यूएन वुमनले कामकाजी महिलाको काम नहुँदा उनीहरुको स्वास्थ्यमा मात्रै नभई आर्थिक प्रगति र स्वतन्त्रतामा पनि असर पर्ने चेतावनी दिएको छ ।

– बीबीसी हिन्दीबाट