सांकेतिक तस्विर
पर्वत । कोरोना (कोभिड–१९) का कारण ०७६ चैत ११ गतेबाट सरकारले पहिलो चरणको लकडाउन ग¥यो । सामान्य जनजिवन चलेको समयमा कोरोना नियन्त्रणका लागि भन्दै सरकारले एक्कासी लकडाउनको घोषणा गर्दा आम नागरिकको दैनिकी ठप्प भयो ।
एक हप्ताका लागि भनेर गरिएको लकडाउन हप्ता दिनमा नसकिएपछि समयको सदुपयोग भन्दै आम मानिसहरु गाउँ गाउँमा गए । हप्ता दश दिन रमाइलोसँग लकडाउनको सदुपयोग गरेका मानिसहरुलाई त्यसपछिका दिन कटाउन निक्कै सकस भयो ।
चैत्र ९ गते चितवनबाट पर्वत मामा घर आएका मनोज रिमाललाई पनि लकडाउनका केही दिन रमाइलो लागेको थियो । जब लकडाउन लम्बिदै गयो उनलाई दिन कटाउन निक्कै सकस भयो । कक्षा ९ मा पढने उनलाई दिन कटाउन समस्या भएको भनेपछि विदेशमा रहेकी उनकी ममीले उनलाई मोवाइको ब्यवस्था गरिदिइन् ।
मोवाइल हातमा पर्ने बित्तिकै सामाजिक संजाल फेसबुकमा जोडिएका उनलाई डेटाले पुगेन् । ममीलाई मामाघरमा इन्टरनेटको ब्यवस्था गरिदिन आग्रह गरे । तर, इन्टरनेट नै जोडिदिन उनको ममी सहमत भइनन् । अनलाइन कक्षालगायतका विविध बहाना बनाएर रिमालले ममीलाई इन्टरनेट जोडन दबाब दिन थाले । छोराको पढाईका लागि भनेपछि भने उनको ममी इन्टरनेट जोडिदिन पनि सहमत भइन् ।
कक्षा ९ मा पढने उनको हातमा अब मोबाइल र इन्टरनेट दुबै भयो । चैतको अन्तिमदेखि इन्टरनेट र स्मार्ट फोनको सरल पहुँचमा पुगेका रिमाललाई अहिले भने यी दुबै चिज नशा जस्तै भएको छ । हर कुनै समय पनि उनको आँखा मोवाइलमा मात्र गडेको हुन्छ ।
अनलाइन क्लास त बहाना मात्र भएको छ, उनको अधिकांश समय सामाजिक सञ्जाल र गेममा मात्र हुने गर्छ । उनको न खाना खाने ठेगान छ न त सुत्ने नै । रिमालका हजुरबुवा धनपति भन्नुहुन्छ–‘पहिला त जे भन्यो त्यही काम मान्थ्यो, जे दियो त्यही खान्थ्यो ,अहिले त केही भन्यो कि झनक्क झनकिन्छ, खाना खान पनि मान्दैन । जति बेला पनि बिस्तारामा मोवाइल मात्र खेलाएर बस्छ।’
रिमाल मामाघर आउनु भन्दा पहिला चितवनको एक नीजि विद्यालयको छात्राबासमा बसेर पढ्थे । बाबाले अर्को बिहे गरेपछि उनको ममी रोजगारीको सिलसिलामा विदेशमा हुनुहुन्छ । छोराको उज्जवल भविष्यका लागि भन्दै विदेश भाषिएकी उनकी आमा छोरालाई केही पनि कुराको कमी हुन दिन चाहदिनन् । छोरा भने मोवाइलमा एडिक भएका छन् ।
कोरोनाको समयमा बालबच्चा मोवाइलको अधिक पहुँचमा
गत चैतदेखि नेपालमा कोरोना (कोभिड–१९) का कारण लकडाउन भयो । अहिले पनि विद्यालयलगायत धेरै मानिस जम्मा हुने स्थान खुलेका छैनन् । लामो समयसम्म विद्यालय बन्द हुँदा नीजि तथा संस्थागत विद्यालयले इन्टरनेटको माध्यमबाट पढाइ सुरु गरेका छन् । विद्यालयले अनलाइन पढाइ सुरु गरेपछि विद्यालय तहका सबै बालबालिकामा इन्टरनेटसहितको मोवाइल वा ल्यापटपको सहज पहुँच पुगेको छ ।
प्रविधिको उचित प्रयोग गर्न जान्नुपर्छ
पछिल्लो समय विविध कारणले धेरै बालबालिकाको तहमा इन्टरनेटको पहुँच पुग्नु सकारात्मक भएको जनस्वास्थ्य विज्ञ बिन्जवला श्रेष्ठ बताउनुहुन्छ । प्रविधिको पहुँच पुग्नु सकारात्मक पक्ष हो, तर त्यसको उपयोगिता कसरी गरिन्छ भन्ने मुख्य कुरा भएको उहाँको तर्क छ ।
बालबालिकालाई प्रविधिको माध्यमबाट कसरी सकारात्मक कुरा सिकाउन सकिन्छ भन्ने अभिभावकमा निर्भर हुने जनस्वास्थ्य विज्ञ श्रेष्ठ बताउनुहुन्छ ।‘आफ्नो छोरा वा छोरीले इन्टरनेटमा के हेरिरहेको छ, उसको चासो केमा गइरहेको छ वा आनीबानीमा कस्तो किसिमको परिवर्तन आएका छन् भन्ने कुरामा अभिभावक निकै चनाखो हुनुपर्छ– जनस्वास्थ्य विज्ञ श्रेष्ठ भन्नुहुन्छ । यदी नकारात्मक पाटोमा लागेको रहेछ भने त्यसलाई सही बाटोमा फर्काउने जिम्मेवारी पनि अभिभावकको हुने उहाँको भनाई छ ।
अधिक प्रयोगले स्वास्थ्यमा समस्या
बालबालिकाहरुले मोवाइल फोन वा ल्यापटपमा धेरै समय खर्चदा त्यसले उनीहरुको मानसिक स्वास्थ्यमा जटिल असर पार्न सक्ने जनस्वास्थ्यका जानकार बताउँछन । खाना खाँदा कती खाएको छ, के खाएको छ थाहा नहुने यसको मुख्य समस्या भएको उनीहरुको तर्क छ ।
बालबालिकाको यो बानीले उनीहरुमा मोटोपनको समस्या ल्याउने अथवा कुनै अवस्थामा खाने कुरा नै भुल्ने बानीले दुब्लोपनको समस्या आउने गर्छ ।
बालबालिकाका लागि मोटोपन र दुब्लोपन दुबै समस्याको रुपमा देखिने जनस्वास्थ्य विज्ञ श्रेष्ठ दाबी गर्नुहुन्छ । मोवाइल वा ल्यापटपको अधिक प्रयोगले बालबालिकामा फस्टेसनको समस्या पनि आउन सक्ने उहाँको तर्क छ ।
बालबालिकाहरु जिज्ञासु स्वभावका हुन्छन, उनीहरुलाई नयाँ–नयाँ कुरा जान्ने इच्छा हुन्छ नयाँ कुरा जान्ने बहानामा उनीहरु अनावश्यक सामाग्रीमा पुग्दै गर्दा बालबालिकाको मष्तिस्कमा नकारात्मक असर पार्ने गर्छ । जसका कारण उनीहरु एडिक हुने, फस्टेसनमा जाने जस्ता मानसिक समस्या देखा पर्न सक्छन् ।
जसका कारण बालबालिकाहरु सेक्सुअल हेरिसमेन्टमा पर्ने वा त्यस्ता क्रियाकलापमा सहभागि हुने, अपराधिक क्रियाकलापमा संलग्न हुने घटना हुन सक्ने उहाँको भनाई छ ।
कोरोना कहरमा यसरी नियन्त्रणमा राखौ बालबालिका
अहिले धेरै बालबालिका इन्टरनेटको पहुँचमा छन् । इन्टरनेटको प्रयोग पछि उनीहरुमा विभिन्न समस्या देखिन थालेका घटना पनि आइरहेका छन् । यसलाई रोक्नु नै अभिभावकका लागि अहिले मुख्य चुनौतीको रुपमा देखिएको छ ।
अभिभावकले बालबालिकालाई हरेक समय निगरानीमा राख्नु र प्रविधिको सही प्रयोगमा मार्गनिर्देश गर्नु नै रोकथामको उत्तम उपाय हुने जनस्वास्थ्य विज्ञ बिन्जवला श्रेष्ठ बतााउनुहुन्छ ।
बालबालिकालाई तालिका अनुसार चलाउन सकेमा उनीहरुको बृद्धि विकासमा पनि टेवा पुग्ने उहाँको तर्क छ । खाना खाने, पढने, मोवाइल वा ल्यापटप खेलाउने, साथीभाइसँग खेल्न जाने जस्ता बालबालिकाका दैनिक क्रियाकलापको तालिका बनाएर चल्दा बालबालिका अनुशासनमा पनि रहने र कुनै पनि कुलत बाटोमा जान नपाउने उहाँको भनाई छ ।
बालबालिकाको जिज्ञासा मेटाउनु पनि उनीहरुलाई नियन्त्रणमा राख्ने एक उपाय भएका तर्के उहाँको छ । श्रेष्ठ भन्नुहुन्छ –‘बालबालिकाले यौनसँग सम्बन्धित कुनै प्रश्न गरेमा हामी उनीहरुसँग झर्कन्छौ वा ठूलो भएपछि आफै थाहा पाउँछौ भनेर टार्छौ, यो नै अभिभावकको गल्ति हो ।
उनीहरुलाई जान्ने इच्छा भएपछि हामीले नभनिदिदा पनि कुनै न कुनै माध्यकमार्फत जानकारी लिन्छन नै । गलत माध्यममार्फत उनीहरु त्यो जिज्ञासा मेटाउन पुगे भने पनि त्यसले नकारात्मक असर पार्छ ।’ त्यसैले बालबालिकाको जिज्ञासालाई सकारात्मक पाटोमार्फत मेटाउन सक्नुपर्ने उहाँको सुझाब छ । बालबालिकासँग सँगै बसेर खाना खाने, उनीहरुलाई कुनै न कुनै काममा जोड्ने अथवा खेल खेलाउने गर्नाले पनि उनीहरुको मानसिक अवस्था तन्दुरुस्त हुने श्रेष्ठको भनाई छ ।