Aafno Khabar
suvakamana add

जग्गा किन्न आउनेले जग्गा देखाउनेलाई कुट्दा एकको मृत्यु

  • आफ्नो खबर
  • २०७७ आश्विन २२ गते प्रकाशित

काठमाडौं । भक्तपुरमा जग्गा हेर्न आएका व्यक्तिहरूको कुटपिटबाट एक जनाको मृत्यु भएको छ । भक्तपुरको चाँगुनारायणमा जग्गा खोज्दै गएका दुईजनाले कुट्दा चाँगुनारायण–८ सुडाल बस्ने ६१ वर्षीय चन्द्र लामा वाईवाको मृत्यु भएको हो ।

सुडालस्थित आफ्नै घरमा चन्द्रको किराना र मदिराको पसल छ । बुधवार मध्यान्ह पसलमा आएका दुईजनाले वियर खाएपछि जग्गा हेर्ने कुरा गरेका थिए । चन्द्र जग्गाको काम पनि गर्थे । पसलमा आएका ग्राहकले ‘जग्गा हेरौं’ भनेपछि उनी जग्गा देखाउन हिँडे ।

घरबाट करिब ५ सय मिटर माथि ईट्टभाट्टामा पुगेपछि जग्गा खोज्नेले अचानक उनलाई नै आक्रमण गरे । निर्घात कुटेर बेहोस बनाएपछि चन्द्रले हातमा लगाएको दुइतोला सुनको ब्रासलेट र दुईवटा मोवाइल लिएर उनीहरु भागेका थिए ।

उपचारको क्रममा ग्रिनसिटी अस्पतालमा बिहीबार बिहान चन्द्रको मृत्यु भएको प्रहरीले जनाएको छ । हत्यामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।