एजेन्सी । नियमित लाइभ गर्ने क्रममा पतिले पेट्रोल खनाएर आगो लगाइदिएपछि चीनमा एक टिकटक स्टारको मृत्यु भएको छ।
बिबिसीमा प्रकाशित समाचार अनुसार लामु नाम गरेकी ती महिला चिनियाँ संस्करणको टिकटक डोइनमा चर्चित थिइन् जहाँ उनलाई लाखौंले पछ्याउने गरेका थिए।
स्थानीय चिनियाँ संचारमाध्यमका अनुसार पूर्व पतिले लगाएको आगोबाट उनको शरिरको ९० प्रतिशत भाग जलेको थियो। आक्रमण भएको दुई सातापछि बुधबार उपचारका क्रममा उनको मृत्यु भएको हो।
घटनाले चीनमा महिलाविरूद्ध हुने हिंसालाई पुनः सामाजिक संजालमा आलोचनाको प्रमुख विषय बनाएको छ। चीनको सिचुवान प्रान्तकी बासिन्दा ३० वर्षीय लामु टिकटकमा पोस्ट गर्ने ग्रामिण जीवन झल्काउने सुखद् टिकटक भिडिओका कारण टिकटक प्रयोगकर्तामाझ चर्चित रहँदै आएकी थिइन्।
टिकटकका प्रयोगकर्ताहरूले बिना मेकअप भिडिओ बनाएकोमा उनको प्रशंसा गर्ने गरेका थिए। उनको भिडिओमा लाखौंको संख्यामा लाइक्स आउने गर्थे।
त्यहाँको स्थानीय प्रहरीले उनीमाथि सेप्टेम्बर १४ मा आक्रमण भएको जनाएको छ। आक्रमणपछि उनलाई उपचारका लागि सुरूमा स्थानीय अस्पताल लगिएको थियो भने त्यसपछि उनलाई सिचुवानको प्रान्तीय अस्पतालमा सारिएको थियो। घटनामा घाइते भएकी उनको उपचारका लागि उनका परिवारले प्रशंसकहरूसँग आर्थिक सहयोगका लागि आव्हान गरेर २४ घण्टामा एक मिलियन चिनियाँ युवान संकलन गरेको त्यहाँको एक स्थानीय संचारमाध्यमले जनाएको छ।
चिनियाँ प्रहरीले घटनामा संलग्न भएको शंकामा लामुका पूर्वपतिलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ।