प्रतिकात्मक तस्बिर ।
भारतको उत्तर प्रदेशको बलरामपुरमा एक दलित युवतीको सामूहिक बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएको छ । युवतीका परिवारका सदस्यले बलरामपुर प्रहरी चौकीमा सामूहिक बलात्कारपछि हत्या भएको उजुरी दिएका छन् ।
प्रहरीले ट्वीटमार्फत सामूहिक बलात्कारपछि हत्या भएको उजुरी परेको जानकारी दिएको हो । प्रहरीका अनुसार, ‘तहरीरमा २२ वर्षकी युवतीका परिवारका सदस्यले भनेका छन् ती युवती एक निजी फर्ममा काम गर्थिन् । मंगलबार कामबाट राति अबेरसम्म पनि फर्किइनन् । परिवारका सदस्यले सम्पर्क गर्ने प्रयास गरे । तर भएन । केही समयपछि युवती रिक्सामा आइन्, उनको अवस्था निकै खराब थियो । परिवारले तत्काल अस्पताल लाने क्रममा उनको मृत्यु भयो ।’
परिवारका सदस्यले उजुरीमा २ युवाको नाम किटान गरेको प्रहरीले जनाएको छ । प्रहरीले दुवै अभियुक्त पक्राउ गरेको छ । अनुसन्धान जारी रहेको र थप अभियुक्तहरु पनि पक्राउ गरिने प्रहरीले जनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतको उत्तर प्रदेशमा लगातार सामूहिक बलात्कारपछि हत्याका घटना भइरहेका छन् । यसअघि हाथरसमा भएको सामूहिक बलात्कारको घटनाले भारतभर प्रदर्शन भइरहेको छ ।
हाथरस सामूहिक बलात्कारको घटना लगत्तै उत्तर प्रदेशकै बलरामपुरमा सामूहिक बलात्कारपछि हत्याको अर्को घटना सार्वजनिक भएपछि मुख्यमन्त्री योगी आदित्यनाथको राजीनामा माग थप चर्को बनेको छ ।