Aafno Khabar

कोरोनाले सिंहदरबारमा दुई-चार जना नमरेसम्म कोरोना नियन्त्रण हुँदैन:मेयर श्रेष्ठ

  • आफ्नो खबर
  • September 27, 2020 प्रकाशित

काठमाडौं । उपत्यका नगरपालिका फोरमका सचिव तथा मध्यपुरठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले सिंहदरबारमा कोरोना संक्रमणले दुई–चार जनाको मृत्यु नभएसम्म उपत्यकामा कोरोना नियन्त्रण नहुने बताउनुभएको छ ।

‘अहिले देशभर संक्रमितमध्ये आधा उपत्यकामै छन्, यो हामीले देख्दा–देख्दै शुन्यबाट यहाँ पुगेको हो, यसमा सबैभन्दा ठूलो दोष सिंहदरबारकै छ,’ उहाँले भन्नुभयो। रफत सञ्चार क्लबमा आयोजित साक्षात्कारमा बोल्दै मेयर श्रेष्ठले सिंहदरबारले नचाहेसम्म उपत्यकामा कोरोना नियन्त्रण असम्भव रहेको बताउनुभयो ।

‘पहिले बाहिरबाटै उपत्यकामा भित्रिएको हो, अब दशैँ र तिहारका लागि घर जानेहरुले देशैभरि घर–घरमा कोरोना पुर्‍याउदैछन्,’ उहाँले भन्नुभयो ‘त्यसैले कोरोनाले सिंहदरबारमै दुई चार जना मर्नुपर्छ, तबमात्रै यसको नियन्त्रणमा ध्यान पुग्छ।’

सरकारले आवत् जावतलाई पूर्ण निषेध गर्नुपर्ने अवस्थामा देशैभरि आवत् जावत् खुला गर्नुले देशैभरि महामारी फैलिने जोखिम रहेको उहाँको भनाइ थियो ।

‘सक्रिय संक्रमित भएका ठाउँमा निषेधाज्ञा लगाउनुपर्छ, आवत जावतलाई रोक्नुपर्छ, नत्र दशैंसम्म उपत्यकामा बढ्दो संक्रमितको संख्याले लाख नाघ्छ,’ उहाँले भन्नुभयो।

मेयर श्रेष्ठले उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको निषेधाज्ञा कागजमै सीमित बनेकाले महामारी फैलिएको आरोप लगाउनुभयो ।