कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या तीन करोड नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार शुक्रबार बिहान कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तीन करोड नाघेको हो ।
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ४४ हजार ३ सय ५८ रहेको छ । त्यस्तै संक्रमण पुष्टि भएकाहरुमध्ये २ करोड ४ लाखभन्दा बढी निको भएको तथ्यांक छ ।
कोरोना संक्रमणबाट बढी प्रभावित अमेरिकामा ६६ लाख ७२ हजारभन्दा बढी संक्रमित भएका छन् । एक लाख ९७ हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा निको हुनेको संख्या करिब २५ लाख ४० हजार रहेको छ ।
कोरोना भाइरस संक्रमितको आधारमा भारत दोस्रो स्थानमा छ । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५१ लाख १८ हजारभन्दा बढी पुगेको छ । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८३ हजारभन्दा बढी पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये भारतमा करिब ४० लाख निको भएका छन् ।
ब्राजिलमा करिब ४४ लाख ५५ हजार संक्रमित भएका छन् भने करिब एक लाख ३५ हजारको मृत्यु भएको छ । ब्राजिलमा ३८ लाख ७३ हजारभन्दा बढी निको भएका छन् ।
नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५९ हजार ५ सय ७३ पुगेको छ । कोरोनाबाट नेपालमा ३ सय ८३ जनाको मृत्यु भएको छ भने संक्रमण पुष्टि भएकामध्ये करिब ४३ हजार निको भएका छन् ।