Aafno Khabar
Creative Ideas

बेसार सेवन गर्दा जान्नैपर्ने मुख्य कुरा यस्ता छन्

  • आफ्नो खबर
  • २०७७ भाद्र १६ गते प्रकाशित

काठमाडौं । हाम्रो भान्सामा दैनिक रूपमा प्रयोग हुने बेसारमा औषधीय गुण भएको कुरा वैज्ञानिक अध्ययनले पनि देखाएका छन । तर अत्यधिक मात्रामा बेसार सेवन गर्दा तथा बजारमा बेचिने मिसावट भएको बेसार प्रयोग गर्दा शरीरलाई लाभभन्दा हानि बढी हुनसक्ने विज्ञहरूले औँल्याएका छन ।

आफ्नो शरीरको तौलअनुसार कति बेसार खानु हुन्छ भन्ने विषय थाहा पाउनु आवश्यक भएको उनीहरू बताउँछन । नेपाली भान्साको अपरिहार्य उक्त मसालाको गुणस्तरबारे पनि सर्वसाधारणहरू सजग रहनुपर्ने उनीहरूको भनाइ छ।

आयुर्वेद र वैकल्पिक चिकित्सा पद्धतिमार्फत कोरोनाभाइरसको रोकथामका उपाय र व्यवस्थापनसम्बन्धी सरकारी निर्देशिकामा पनि दैनिक रूपमा खानामा बेसार प्रयोग गर्न सुझाइएको छ। बेसारले शरीरमा उत्पन्न विषाक्ततालाई नष्ट गर्ने निर्देशिकामा उल्लेख छ।

भन्सार विभागको तथ्याङ्कअनुसार नेपालमा पछिल्लो समय बेसारको आयात ह्वात्तै बढेको देखिन्छ जसको सीधा साइनो खपतसँग जोडिएको जानकारहरू बताउँछन । तर विज्ञहरू भने पर्याप्त ज्ञानबिनै बेसार प्रयोगले विभिन्न किसिमका समस्या उत्पन्न हुन सक्ने बताउँछन ।

अझ बजारमा पाइने मिसावटयुक्त बेसारले त क्यान्सरसहित अन्य विभिन्न जटिल रोगको खतरा रहने उनको तर्क छ । तराई र पहाडी जिल्लामा भान्सामा तरकारी र दालमा प्रयोग हुने बेसारको मात्रा ठिक रहेको विज्ञको भनाइ छ ।

अत्यधिक बेसार सेवनले मिर्गौलामा समस्या भएकाहरूलाई खतरामा पार्ने तथा एलर्जीदेखि क्यान्सरसम्मको जोखिम रहने उनीहरूको तर्क छ । त्यस्तै कलेजोमा पनि यसले समस्या पार्ने बताइन्छ ।

अत्यधिक बेसार सेवन गर्दा हुने हानिबाहेक बजारमा उपलब्ध बेसारको गुणस्तर पनि चिन्ताको विषय हो। नेपाली बजारमा उपलब्ध बेसारमा लेड क्रोमेटु मिसाइएको पाइने गरेको छ। उक्त अखाद्य मिश्रण बेसारमा पहेँलो रङ्ग ल्याउनका लागि प्रयोग गरिन्छ।

त्यसबाहेक विद्यालयहरूमा प्रयोग हुने चक र स्टार्च मिसाइने गरेको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ। नेपालमा भारत, म्यान्मार र इथियोपियाजस्ता देशहरूबाट बेसार आयात गरिने गरेको भन्सार विभागको पछिल्लो तथ्याङ्कले देखाउँछ।

राम्रो बेसार कसरी चिन्ने?
आफैँले खेतबारीमा रोपेको बोटबाट सङ्कलित कन्दबाट निर्मित धूलो बेसार शुद्ध हुन्छ। तर बजारमा उपलब्ध बेसारमा मिसावट भएको हुन सक्छ।धूलो बेसारको परीक्षण प्रयोगशालामै गरिनुपर्ने भए पनि केही हदसम्म घरेलु विधिबाट पनि त्यसको गुणस्तरबारे जानकारी प्राप्त गर्न सकिने विज्ञहरू बताउँछन ।

पानी मिसाइएको गिलासमा बेसार हालेर केही समय छोड्दा चक मिसिएको रहेछ भने तल थेग्रिने र मैदालगायतका वस्तु प्रयोग भएको छ भने डल्लो पर्ने विभागको भनाई छ । त्यस्तै पानीमा बेसार घुलनशील नहुने हुँदा पानीमा मिसाउना साथ कडा रङ्ग सर्नु पनि मिसावटको एक किसिमको सङ्केत रहेको जानकारहरू बताउँछन ।

मिसावटको प्रचुर सम्भावना रहने हुँदा सकेसम्म खुला रूपमा कारोबार गरिने बेसार नकिन्नु उपयुक्त हुने विभागको सुझाव छ।

बेसार कति सेवन गर्दा हानि हुँदैन?
विश्व स्वास्थ्य सङ्गठनका विज्ञसहितको एउटा समितिले मानिसले आफ्नो तौलअनुसार प्रतिदिन चारदेखि आठ ग्रामसम्म बेसार सेवन गर्न उचित हुने निचोड निकालेको छ ।बेसारमा कक्र्यमिन नामक रासायिक पदार्थको मात्रा एक प्रतिशतभन्दा तल नघटेको हुनुपर्ने राजपत्रमा प्रकाशित फुड स्टयान्डर्डमै उल्लेख गरिएको छ।

कुनै पनि औषधि खाइरहेका व्यक्तिले चिकित्सकको सल्लाहबिना थप बेसार खान नहुने विज्ञहरू बताउँछन । विशेषतः रगत जम्न नदिने औषधि सेवन गर्नेहरूले धेरै बेसार खाँदा रक्तस्राव हुनसक्ने सम्भावना हुन्छ । बेसारले शरीरमा ताप पैदा गर्ने हुँदा विशेषतः गर्मी मौसममा कम खान उचित हुने  विज्ञ बताउँछन । -बीबीसी