Aafno Khabar
Creative Ideas

सिन्धुपाल्चोकमा बाढी पहिराेबाट विस्थापितकाे स्थानान्तरणबारे प्रधानमन्त्री र सभामुखबीच छलफल

  • आफ्नो खबर
  • २०७७ भाद्र १४ गते प्रकाशित

काठमाडाैं । सिन्धुपाल्चोकमा बाढी पहिरोबाट विस्थापितहरुको सुरक्षित स्थानमा स्थानान्तरण गरी स्थायी आवास निर्माण गर्नेबारे प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बेलुका भएको भेटमा सभामुख सापकोटाले सिन्धुपाल्चोकमा प्राकृतिक विपत्तिका कारण भएको मानवीय र भौतिक क्षति एवम् अस्थायी बसोबासको प्रबन्धबारे जानकारी गराउनुभएकाे थियाे ।

भेटमा सभामुख सापकोटाले जोखिममा परेका बस्तीहरुको भौगर्भिक अध्ययन गर्न टोली पठाउने, विस्थापितहरुको स्थानान्तरणसहित स्थायी बसोबासका लागि एकीकृत मोडेल बनाउने, अरनिको राजमार्ग व्यबस्थित गर्ने र जुरे पहिरो पीडितका लागि जनस्तरबाट संकलित रकम निकासा लगायतका विषयहरु उल्लेख गरेका थिए ।

जवाफमा प्रधानमन्त्री ओलीले सिन्धुपाल्चोकमा परेको विपत्ति र जनधनको क्षतिका विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरी सम्बन्धित कार्यहरु यथाशीघ्र अघि बढाइने बताउनुभएकाे छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बाढी र पहिरोमा परी सिन्धुपाल्चाेकमा मात्र यस वर्ष ५६ जनाको मृत्यु भएको छ भने २६ जना बेपत्ता छन् ।