काठमाडौं । कोरोना भाइरसको उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी वा राष्ट्रसेवक कर्मचारीलाई डेरामा आउजाउमा अवरोध गर्नेलाई गृह मन्त्रालयले कारवाही गर्ने भएको छ ।
महामारी नियन्त्रणमा खटिएकाहरूलाई हुलहुज्जत गर्ने, धम्की दिने, बसोबास गरेको घर वा डेरामा आउन–जान नदिने, घेराउ गर्ने वा दुर्व्यवहार गर्नेलाई कडा कारवाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ ।
यदि कसैले माथिका कुनै हर्कत गरेमा गृह मन्त्रालयको टोल फ्रि नम्बर ११४९ वा नेपाल प्रहरीको १०० नम्बरमा फोन गर्न मन्त्रालयले आग्रह गरेको छ । सूचना दिने व्यक्तिको विवरण गोप्य राख्ने मन्त्रालयले जनाएको छ ।
काठमाडौं, मोरङ र चितवनमा कोभिड–१९ को नियन्त्रणमा खटेकाहरूलाई दुव्र्यवहार गरेपछि यस्तो निर्देशन दिनुपरेको मन्त्रालयले जनाएको छ ।
विरामीको उपचार खटेका वा महामारी नियन्त्रणमा लागेका जोकोहीलाई सम्मान तथा उत्प्रेरित गर्नुपर्नेमा धम्की दिने, घर घेराउ गर्ने गरिरहेको मन्त्रालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।