Photo Credit : Getty Images
भारतकाे अण्डमान द्वीप समूहको एक टापुमा बसाेबास गरिरहेका दुर्लभ जनजातिका केही सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ ।
एक स्वास्थ्य अधिकारीका अनुसार ग्रेट अण्डमान जनजातिका चार सदस्यमा कोरोना संक्रमण भएको बीबीसीले उल्लेख गरेकाे छ । बीबीसीका अनुसार संक्रमितमध्ये २ जना अस्पतालमा भर्ना गरिएको छ भने २ जना स्थानीय एउटा केयर सेन्टरको क्वारेन्टिनमा राखिएको छ ।
ग्रेट अण्डमान जनजाति अब विश्वमा ५३ जना मात्र जीवित छन् । उनीहरू अण्डमान निकोर द्वीप समूहका ३७ द्वीपमध्ये एक द्वीपका बासिन्दा हुन् ।
अण्डमान उक्त द्वीप समूहको पूर्वी हिस्सामा अहिलेसम्म २ हजार ९ सय ८५ जनामा संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये ४१ जनाकाे मृत्यु पनि भइसकेकाे छ । यहाँ गत जुन महिनादेखि काेराेना फैलिरहेकाे छ ।
एक वरिष्ठ स्वास्थ्य अधिकारी डा. अभिजित रायले बीबीसीसँग भनेका छन्, ‘ग्रेट अण्डमान जनजातिमा याे पहिलो संक्रमण हो । स्ट्रेड आइल्याण्डमा यी जातिका ५३ जनामा परीक्षण गर्दा चार जनाका संक्रमण देखिएकाे हाे ।’
अण्डमान द्वीप समूह पाँच दुर्लभ जनजातिकाे बसाेबास भएकाे स्थान हाे । यहाँ बसाेबास गर्ने जरावा, नोर्थ सेन्टीनेलिज, ग्रेट अण्डमान, ओग तथा सेम्पेन दुर्लभ जनजातिकाे सूचिमा रहेका छन् ।
यिनीहरुमध्ये जरावा र नाेर्थ सेन्टीनेलिज जनजातिहरु आम मानिसकाे सम्पर्कमा छैनन् । नाेर्थ सेन्टीनेलिज जनजातिहरु त बाहिरका मानिसहरुका लागि आक्रामक हुन्छन् । सन् २०१८ मा जोन एलेन चाउ नाम गरेका एक अमेरिकीले यिनीहरूको टापुमा जाने प्रयास गरेका थिए । तर ती जनजातिले तीरले हानेर मारिदिएका थिए ।
यहाँका जनजातिबीचमा काम गरिरहेकाे लण्डनमा रहेको संस्था सर्भाइभल इन्टरनेशनलका अनुसार १८५० मा जब बेलायतले उक्त द्वीप उपनिवेश बनाएकाे थियाे, त्यतिबेला करीब ५ हजारको संख्यामा जनजाति बसोबास गर्दथे । तर पछिल्लाे समय बाहिरका मानिसहरु त्यहाँ जाने र नयाँ नयाँ राेगका कारण यिनीहरुकाे संख्या घटिरहेकाे छ ।