काठमाडाैं । रुसले कोरोनाभाइरस विरुद्धको खोप उत्पादन शुरु गरेको छ ।
यो महिनाको अन्तिममा खोप लगाउन शुरु गरिने गरी उत्पादन सुरु गरेकाे रुसकाे स्वास्थ्य मन्त्रालय उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समाचार लेखेका छन् ।
गएको मंगलबार रुसले यो खोप मानिसमा परीक्षण गरेको थियो । खोपको विश्वसनियतामा प्रश्न नउठोस् भनेर राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नी छोरीमा खोपको परीक्षण गराएका थिए ।
खाेपका विषयमा अन्तर्राष्ट्रिय रूपमा व्यक्त भइरहेका चिन्ताकाे जवाफमा रुसले ‘आधारहीन’ भएकाे बताइसकेकाे छ ।
रुसी खोपबारे विशेषगरी अमेरिका र युरोपमा प्रश्न उठिरहेको छ ।
जर्मनीका स्वास्थ्य मन्त्री येन्स स्पानले भनेका छन्, ‘लाखौँ मानिसहरूलाई खोप लगाउन सुरु गर्नु एउटा खतरनाक कुरा हो किनकी यदि त्यसमा केही खराबी भएमा मानिसहरूको खोप प्रतिको विश्वास नै हराउनेछ।’
अमेरिकाका वरिष्ठ भाइरस रोगका चिकित्सक डा. एन्टोनी फाउचीले पनि रुसी दाबीप्रति आशङ्का व्यक्त गरेका छन् ।