Aafno Khabar

विश्वभर २ कराेड बढी काेराेना संक्रमित

  • आफ्नो खबर
  • August 11, 2020 प्रकाशित

काठमाडौं । विश्वव्यापी रुपमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार मंगलबार बिहानसम्म विश्वका २ करोड ४ हजार २ सय ५४ जना मानिसमा कोभिड १९ को संक्रमण पुष्टि भइसकेको हो ।

अमेरिकामा कोरोना भाइरसबाट संक्रमितको संख्या ५० लाख ८८ हजार पार भइसकेको छ भने ब्राजिलमा ३० लाख ५७ हजार भन्दा धेरै मानिस संक्रमित भइसकेका छन् । विश्वमा अमेरिका र ब्राजिलपछि भारतमा काेराेना संक्रमितकाे संख्या बढी छ । भारतमा २२ लाख १५ हजारभन्दा धेरै मानिस यसबाट संक्रमित छन् ।

संक्रमितको संख्या २ करोड हुँदा ज्यान गुमाउनेको संख्या पनि बढिरहेको छ। अहिलेसम्म ७ लाख ३३ हजार ९ सय २९ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् । मृत्यु हुनेको संख्यामा अमेरिका नै पहिलो स्थानमा छ। अमेरिकामा १ लाख ६३ हजार ४ सय मानिसको मृत्यु भइसकेको छ।

ब्राजिलमा १ लाख १ हजार ७ सय ५२ जनाको मृत्यु भइसकेको छ । मेक्सिकोमा ५२ हजार २ सय ९२ जना मानिसले ज्यान गुमाइसकेका छन् । बेलायतमा मृत्यु हुनेको संख्या ४६ हजार ६ सय ११ रहेको छ। भारतमा मृत्यु हुनेको संख्या ४४ हजार ३ सय ८६ रहेको छ।

नेपालमा पनि संक्रमितको संख्या २३ हजार ३ सय भन्दा माथि पुगिसकेको छ । संक्रमितकाे संख्या बढ्दाे क्रममा छ । अहिलेसम्म नेपालमा ८१ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।